छाउपडीविरुद्ध अछाममा किशोरीको र्‍याली

छाउपडी कुप्रथाविरुद्ध कानुन बनिसक्दा पनि कार्यान्वयन नगरेको, जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका थिए ।

भाद्र १७, २०८२

मेनुका ढुंगाना

Girl's rally in Achham against Chhaupadi

What you should know

अछाम — छाउपडी कुप्रथाविरुद्ध अछामको मंगलसेनका किशोरीले र्‍याली निकालेका छन् । 'महिला मार्न पाइँदैन, छाउपडी गोठ चाहिँदैन', 'महिनावारीमा बहिष्कार होइन, सम्मान देउ', 'कानुनको कार्यान्वयन गर', 'छाउपडी कुप्रथाको अन्त्य गरौं', महिला अधिकारको सम्मान गरौंलगायतका नारासहित मंगलसेनस्थित शोडषा माविमा अध्ययनरत र अन्य किशोरीले मंगलबार विरोध र्‍याली निकालेका हुन् ।

छाउपडी कुप्रथाविरुद्ध कानुन बनिसक्दा पनि कार्यान्वयन नगरेको, जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका थिए । भदौ १३ गते राति अछामको पञ्चदेवल बिनायक नगरपालिका— ८ मा महिनावारीको समयमा छाउ बार्न त्रिपाल टाँगेर बसेकी एक महिला र एक बालिकाको ढुंगा लागेर मृत्यु भएको थियो ।

महिनावारी भएको समयमा छाउ बार्न घर बाहिर जानु पर्ने बाध्यताका कारण हरेक वर्ष घटना हुने गरे तापनि सरोकारवाको वास्ता नभएको किशोरीहरु बताउँछन् । ‘छाउगोठमा मृत्यु हुने , त्रिपालमा बसेर मृत्यु हुने बलात्कारका घटना हुँदा पनि सरोकारवाला मौन बसेका छन्,’ र्‍यालीमा सहभागी मंगलसेन नगरपालिका—३ दयकी १६ वर्षीया यशोदा कुवँरले भनिन्, ‘महिनावारी हुन थालेको ३ वर्ष भयो । तीन वर्षदेखि नै छाउगोठमा बस्दै आएकी छु । मेरो गाउँमा एक घर एक छाउगोठ छन् ।’ एक्लैले छाउगोठ बस्नु हुँदैन भनेर आवाज उठाउँदा परिवारले समेत एक्लो पार्ने भएकाले जनप्रतिनिनिधि, प्रहरी, प्रशासनले कानुन कार्यान्वयन गर्नुपर्ने र त्यसमा आफूहरुले साथ दिने उनले बताइन् । 

विरोध र्‍यालीमा आएकी मंगलसेन नगरपालिका— ५ भाटवाडाकी १६ वर्षीया ईश्वरी भाटले आफू पनि छाउगोठमा बसिरहेको बताइन् । ‘हाम्रो पीडाको महसुस परिवारले कहिल्यै गरेन । सदरमुकामकै वडा भएर पनि छाउगोठको बिगबिगी उस्तै छ,’ उनले भनिन्, ‘केही दिनअघि मात्रै छाउ बार्न बसेकै कारण दुई जनाको मृत्यु हुँदा पनि कोही बोल्दैनन् । कोही नबोले हामी बोल्छौं भनेर प्रशासन कार्यालयसम्म विरोध र्‍याली निकालेका हौं ।’

Girl's rally in Achham against Chhaupadi

मंगलसेन नगरपालिका—३ दयकी यशोदा नेपालीले पनि आफू पनि छाउगोठमा बस्नु परेको र परिवारका मान्छेले घरमा बस्नै नदिने गरेको बताइन् । ‘हरेक महिना छाउगोठमा बस्नु पर्दा सर्पको सबैभन्दा बढी डर लाग्छ,’ उनले भनिन्, ‘घरमा धेरै पटक महिनावारी भएको समयमा बस्न दिनुस् भनेर अनुरोध गरे । तर कसैले मानेनन् । प्रहरी, प्रशासनसँग धेरै अपेक्षा बोकेर यहाँसम्म आएका हौं ।’

विरोध र्‍याली निकालेर मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका किशोरीलाई प्रमुख जिल्ला अधिकारी आनन्द सारुले कानुन कार्यान्वयनमा चरणबद्धरुपमा लाग्ने बताए । ‘छाउपडी प्रथाका कारण महिला तथा किशोरीले अकालमा ज्यान गुमाउनु परेका घटनालाई हामीले गम्भीररुपमा लिएका छौं,’ प्रजिअ सारुले भने, ‘जनप्रतिनिधिलगायत सबै सरोकारवालाको बैठक छिट्टै राखेर कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्छौं ।’ 

अहिले प्रहरी प्रशासनको सहकार्यमा जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा अनुसार शुक्रबारबाट सुरु भएको छाउगोठ भत्काउने अभियानअन्तर्गत सोमबारसम्म १ सय १३ वटा छाउगोठ भत्काइएका छन् । र्‍यालीमा महिला अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको पनि सहभागिता थियो ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully