डा. केसीले ७० भन्दा तल ग्लुकोजको अवस्था बनाएर सत्याग्रह जारी राखेका छन्, सरकारसँग वार्ता नभए स्वास्थ्य संकट बढ्ने संकेत छ।
What you should know
धनगढी — कैलालीको गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सत्याग्रहमा बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ। आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार ग्लुकोजको मात्रा ३७ पुगेको उनका सहयोगी डा. अमृत जैशीले बताए।
‘ग्लुकोजको यो अवस्था अति कम हो, ७० भन्दा तल भएमा जुनसुकै बेला बेहोस हुने जोखिम हुन्छ। नर्मल स्लाइन बाहेक अन्य औषधी लिन मानेका छैनन्,’ उनले भने, ‘यो रिपोर्ट मंगलबार बिहान ६ बजेको हो। डा.क्टरहरूले उनको स्वास्थ्य अवस्थाबारे परामर्श गरिरहेका छन्।’
आइतबार अपराह्नबाट तीन दिने सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार तेस्रो दिन हो। मंगलबार अपराह्नतिर सत्याग्रह अन्त्य गर्ने तयारी रहेको छ।
तेइसौँ सत्याग्रह थालेका डा. केसीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, शुल्क वृद्धि नगर्नुपर्ने, सम्झौता अनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन्।
दोस्रो मागमा उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नुपर्ने बताएका छन्। यसअघि भएका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्नुपर्ने उनको माग छ।
लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यसको सुनिश्चितता गर्न नेपाल सरकारसँग उनले माग गरेका छन्। चौथो मागमा उनले युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसमक्ष माग गरेका छन्।
