नौगाड नदीमा अटोरिक्सा खस्दा दुईको मृत्यु, एक जना बेपत्ता

उक्त दुर्घटनामा दुई जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएको दार्चुला प्रहरीले जानकारी दिएको छ ।

भाद्र १६, २०८२

मनोज बडू

Two dead, one missing after autorickshaw falls into Naugad river

What you should know

दार्चुला — नौगाडको होपरिगाडबाट मसिने बगरतर्फ आइरहेको म १ ख ११४८ नम्बर अटोरिक्सा नौगाड खोला (नदी) मा खस्दा दुई जनाको मृत्यु भएको छ । उक्त रिक्सामा सवार एक जना बेपत्ता रहेको र अन्य दुई जना घाइते रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो करिब साढे १ बजेतिर नौगाड गाउँपालिका–५ सौकेबगर नजिक चिनेगौडा भीरबाट अटोरिक्सा अनियन्त्रित भई नौगाड खोलामा खसेर दुर्घटनामा परेको जनाएको छ । 

उक्त दुर्घटनामा दुई जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले बताए । जसमा नौगाड गाउँपालिका–६ डाँडाका अन्दाजी १८ वर्षीया धाना धामी र त्यही ठाउँकी अन्दाजी १२ वर्षीया आरुषा धामीको मृत्यु भएको छ । आरुषाकी ४७ वर्षीया हजुरआमा चाखुरीदेवी धामी बेपत्ता रहेकी छन् । मृत्तक र बेपत्ता तीनै जना एकै घरपरिवारको रहेको बुझिएको छ । 

अटोरिक्सा चालक मनिराम झुल र उनका १६ वर्षका छोरा आयुष घाइते भएका छन् । घाइते आयुषको दाहिने हात भाँचिएको र घाँटीमा चोट लागेको हुनाले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले बताए । उनले सामान्य घाइते अटोरिक्सा चालक मनिरामलाई नियन्त्रण लिएर दुर्घटनाको अनुसन्धान भइरहेको जनाए । नदीमा बेपत्ताको साँझ अबेरसम्म खोजतलास गर्दा नभेटिएको र भोलि उज्यालो भएपछि खोजतलासमा लाग्ने प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृतकको शवको मुचुल्का गएर पोष्टमार्टमका लागि शव गोकुलेश्वर अस्पताल राखिएको छ । अटोरिक्सा नदीमा खस्दा तीन जना बेपत्ता भएका थिए । खोजतलासबाट बेपत्ता दुई जनाको शव भेटिएको हो । बेपत्ताको खोजी कार्यमा स्थानीयसँगै इलाका प्रहरी कार्यालय गोकुलेश्वर र लटिनाथ तथा होपरिगाड प्रहरी चौकी र अस्थायी प्रहरी चौकी धुलिगडाको टोलीसँगै बचालमा रहेको सशस्त्र प्रहरीले सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully