जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् ।
दार्चुला — नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नौगाड नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ सौकेबगर नजिकबाट म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् । उद्धारको प्रयास भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।
अटोचालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन् । अटोचालक सख्त घाइते भएकाले महिलाहरुसित अरु बच्चाहरू पनि हुन सक्ने अनुमान गरिएको छ ।
अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका १७ वर्षीय छोरा आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन ।
