तेर्छालेक र पनेबाजमा पहिरो, महाकाली लोकमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यरातिको नियमित वर्षाका कारण पहिरो खसिरहेको छ ।

भाद्र १५, २०८२

मनोज बडू

Landslides in Terchhalek and Panebaj, blocking the Mahakali highway

दार्चुला — तेर्छालेक र पनेबाजमा पहिरो खस्दा रातिदेखि महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरोले महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलंगा सडक खण्डको पनेबाज–ऐरिछाना क्षेत्रमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयकाअनुसार मध्यरातिको नियमित वर्षाका कारण पहिरो खसिरहेको छ । मालिकार्जुन गाउपालिका–३ तेर्छालेकमा एक महिनादेखि दिनहुँजसो पहिरो खसिरहेको छ । सानो वर्षा हुनेबित्तिकै उक्त क्षेत्रमा पहिरो खसेर लोकमार्ग प्राय: बन्द हुँदै आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गयराति देखि नै तेर्छालेक र पनेबाज क्षेत्रमा लेदोसहितको पहिरो नियमित रुपमा आइरहेको जनाएको छ । पहिरो नरोकिँदा पन्छाउने काममा अवरोध आएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए । 

जिल्ला भित्रिने र बाहिरिने यातायात साधन पनेबाज र ऐरिछाना क्षेत्रमा रोकिएका छन् । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully