खप्तड पुग्ने पर्यटक अव्यवस्थित बसाइ भोग्दै, आवास गृह भने ६ वर्षदेखि अलपत्र 

चिसो वातावरणमा पनि कोठाभित्र न्यानो बनाउन सक्ने प्रविधि भएका निर्माणाधीन भवन वर्षौंदेखि अलपत्र भइरहँदा यहाँ पुग्ने पर्यटकहरुको बसाइ भने असुविधायुक्त हुने गरेको छ ।

भाद्र १४, २०८२

वसन्तप्रताप सिंह

Tourists coming to Khaptad are suffering from unorganized stay, the accommodation house has been standing for 6 years

What you should know

बझाङ — सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तडमा पर्यटकको आवास सुविधाका लागि ६ वर्ष अघिदेखि निर्माणाधीन भवन अझै प्रयोगमा आउन सकेका छैनन । अर्कोतिर सुविधायुक्त आवासको अभावमा ‘भूस्वर्ग'का नामले चर्चित खप्तड पुगेका पर्यटक अव्यवस्थित बसाइको तितो अनुभव बोकेर फर्कने गरेका छन् । 

खप्तड राष्ट्रिय निकुञ्जको मुख्य ब्यारेक नजिक बन्न लागेको ८० बेड र डोटीको बाटो भएर आउजाउ गर्ने पर्यटकका लागि बिचपानीमा बन्न लागेको २० बेड क्षमताका ८ वटा भवन ६ वर्षदेखि अलपत्र परेका हुन् । 

१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले बास बस्न मिल्ने भवन निर्माणको ठेक्का प्रक्रिया २०७६ सालमा नै सुरु भएको थियो । नेपाल पर्यटन बोर्डले २०७५/०७६ मा भवन निर्माणका लागि विनियोजन गरेको ५ करोड रकममध्येबाट टीडीआर एन्ड बीजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि करबाहेक ४ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो । खप्तड राष्ट्रिय निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित ती भवन निर्माणका लागि उक्त कम्पनीलाई ७ महिनाभित्र काम सम्पन्न गर्ने गरी ०७६ चैतमै स्वीकृति दिएको थियो । त्यसयता पटकपटक गरी ५ पटक म्याद थप गरेपछि २०८१ सालमा मात्रै उक्त कम्पनीले भवनका संरचनाहरु तयार गरेको थियो । 

भवन संरचना बने पनि ठेक्काको सर्तबमोजिम खानेपानी जडान, घेरबार, उड फ्लोअरिङ (कोठाभित्र काठ छाप्ने काम), बत्ती जोड्ने लगायतका काम नगरेपछि निकुञ्ज कार्यालयले ठेक्का तोडेको थियो । बाँकी काम गर्नका लागि गत वर्ष मंसिरमा गजेन्द्र निर्माण सेवालाई खप्तड र नेत्रेश्वरी निर्माण सेवालाई बिचपानीको भवनको ठेक्का दिइएको थियो । 

‘बिचपानीको काम लगभग सकिएको छ । खप्तडको भवनमा पनि घेरबारको काम सकेर उड फ्लोअरिङ भैरहेको छ,' खप्तड राष्ट्रिय निकुञ्जका रेञ्जर परसुराम कठायतले भने, ‘सकेसम्म छिटो काम सम्पन्न गरेर भवनहरु प्रयोगमा ल्याउने गरी निकुञ्जले ताकेता गरिरहेको छ ।'

भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न भए पनि व्यवस्थापन कसरी गर्ने भन्ने निर्क्यौल नभएका कारण प्रयोगमा आउन समय लाग्ने उनको भनाइ छ । ‘कुन मोडालिटीमा सञ्चालन गर्ने भनेर कार्यविधि बनाउनेबारे पनि छलफल भइरहेको छ । यो वर्षभित्र दुइटै नभए पनि बिचपानीको भवन सञ्चालन गर्ने तयारी छ,' उनले भने ।

Tourists coming to Khaptad are suffering from unorganized stay, the accommodation house has been standing for 6 years

चिसो वातावरणमा पनि कोठाभित्र न्यानो बनाउन सक्ने प्रविधि भएका निर्माणाधीन भवन वर्षौंदेखि अलपत्र भइरहँदा यहाँ पुग्ने पर्यटकहरुको बसाइ भने असुविधायुक्त हुने गरेको डोटीको झिग्रानामा होमस्टे सञ्चालन गरिरहेका दीपकबहादुर खड्काले बताए । ‘धेरै मानिस आएका बेला सुत्ने ठाउँ नभएर एउटै कोठामा १०/१५ जनासम्म कोच्चिएर सुत्नुपर्छ । हिउँदमा चिसोले कठ्याङग्रिनुपर्ने अवस्था छ,' उनले भने, ‘छ वर्षको अवधिमा खप्तड राष्ट्रिय निकुञ्जमा ६/७ जना वार्डेनले कार्यकाल सकेर गइसके पनि भवन भने समयमै बनेनन् । जो वार्डेन आए पनि भवन बनाउन ध्यान दिँदैनन् । सरुवा भएर जानेबेला सुटुक्क म्याद थपेर जान्छन् । भित्रैभित्रै के चलखेल भइरहेको छ, बुझ्नै गाह्रो छ ।'

यी भवन छिटो प्रयोगमा आइदिए पर्यटकले गर्ने गुनासो हट्नुका साथै खप्तडमा आगमन बढ्ने र बसाइ लामो हुने खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति कार्यकारी निर्देशक खेम जोशीले बताए । ‘यत्रो लगानीका संरचना प्रयोगमा नआउँदा पर्यटकलाई मात्रै होइन, खप्तड क्षेत्रको पर्यटन प्रर्वद्धनमै नराम्रो सन्देश गएको छ,' उनले भने, 'यो अवस्था बनाउन जिम्मेवारलाई कारबाही गरेर यी भवन छिटो प्रयोगमा ल्याउनुपर्छ ।' 

सघन सहरी तथा भवन निर्माण आयोजनाले भने अहिले द्रुत गतिमा काम भइरहेको र निर्माण गुणस्तर अनुगमन गरिरहेको दाबी गरेको छ । ‘अघिल्लो ठेकेदारले काम पनि ढिला गर्‍यो । अन्तमा अधुरै छोडेका कारण यत्रो समय लागेको हो,' आयोजना कार्यालयका इन्जिनियर तिलक विकले भने, ‘अहिले काम फटाफट भइरहेको छ । दसैंअगाडि नै सबै सम्पन्न हुन्छ होला ।' निर्माण सम्पन्न भइसकेपछि भवन कसरी प्रयोग गर्ने भन्ने कार्यविधि बनाउन समय लाग्न सक्ने भएकाले तुरुन्तै प्रयोगमा भने नआउन सक्ने उनको भनाइ छ ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully