पहिरोले दुहुँको वडा कार्यालयमा क्षति

दार्चुलाको महाकाली नगरपालिका–२ बडालीगाउँका आधा दर्जन घर पनि पहिरोको जोखिममा परेका छन् ।

भाद्र १३, २०८२

मनोज बडू

Duhun's ward office was damaged by the landslide

दार्चुला — गएरातिको वर्षाका कारण पहिरो खस्दा दुहुँ गाउपालिका–३ को कार्यालयमा क्षति पुगेक गरेको छ । अविरल वर्षाका कारण कार्यालय भवन माथिबाट आएको पहिरोले वडा कार्यालय भवन क्षतिग्रस्त भएको वडाध्यक्ष देबबहादुर बमले बताए ।

उनका अनुसार भवनभित्रै पहिरो पसेर ठूलो क्षति भएको छ । जसका कारण वडा कार्यालयबाट सेवा प्रवाहमा समस्या आएको छ । क्षतिको विवरण संकलनमा पनि समस्या भइरहेको उनले बताए ।

दार्चुलाको महाकाली नगरपालिका–२ बडालीगाउँका आधा दर्जन घर पनि पहिरोको जोखिममा परेका छन् । गोपालसिंह बडाल, पदमसिंह बडाल, करनसिंह बडाल, जमनसिंह बडाल, हरकसिंह बडाल र लक्ष्मणसिंह बडालको घर पहिरोको जोखिममा रहेको प्रहरी निरीक्षक रावतले बताए । घर जोखिममा परेपछि छिमेकीको घरमा सरेको स्थानीय गोपालसिंह बडालले बताए । 

अहिले पहिरो खसेको ठाउँमा प्रहरी टोली परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको रावतले जनाएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully