अजयमेरुमा ऐतिहासिक महोत्सव र राष्ट्रिय भलिबल प्रतियोगिता, विजेतालाई नगद पुरस्कारसहित विविध कार्यक्रमको आयोजना।
डडेल्धुरा — डडेल्धुराको अजयमेरु गाउँपालिकाले अजयमेरु कोटलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १८ गतेदेखि २२ गते सम्म राष्ट्रियस्तरको भलिबल महोत्सव आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर उक्त भलिबल प्रतियोगिता र महोत्सवसम्बन्धी जानकारी दिएको हो । महोत्सलाई धार्मिक, सांस्कृतिक र खेलकुदसँग जोडेर व्यापक रूपमा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।
महोत्सवले अजयमेरु क्षेत्र ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले सम्पन्न रहेकाले यसको प्रचार–प्रसार गरी यसलाई बाहृय तथा आन्तरिक पर्यटकको आकर्षण स्थल बनाउने मुख्य उद्देश्य रहेको गाउापालिकाले जनाएको छ।
महोत्सव अन्तर्गत राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टीमले ७० हजार ७७७ रुपैयाँ, द्वितीयले ३० हजार ३३३ रुपैयाँ र तृतीयले १५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
गाउँपालिकाले खेलाडी र टिम चयनका लागि आधिकारिक पत्रसहित सम्बन्धित वडाबाट दर्ता अनिवार्य गर्नुपर्ने जनाएको छ। त्यसैगरी, महोत्सवमा कृषि उपजको प्रदर्शनी, पशुपालनसम्बन्धी कार्यक्रम, स्थानीय कला–संस्कृति झल्काउने प्रस्तुति, तथा विभिन्न क्षेत्रमा सक्रिय कलाकारहरूको प्रदर्शनसमेत हुने जनाइएको छ ।
