सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन छ । यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ ।

भाद्र १२, २०८२

मोहन चन्द

Gaura festival started in far west

What you should know

बैतडी — सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । भाद्र कृष्ण पञ्चमी अथवा शुक्ल पक्षदेखि यो पर्व सुरु भई दुर्वाष्टमी (अष्टमी) का दिन १५ गते समापन हुन्छ ।

भाद्र कृष्ण पञ्चमीलाई सुदूरपश्चिममा बिरुडापञ्चमी भनिन्छ । बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौराको सुरुवात गरिन्छ । बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रहिआएको छ । 

गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकारका अन्नलाई बिरुडा मान्ने प्रचलन रही छ । बिरुडापञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ । कतिपय ठाउँमा नभिजाएरै बिरुडा मिसाएर मात्रै राख्ने चलन पनि छ । 

गौरामा व्रतालु महिलाहरुले विशेष प्रकारको धागो अर्थात् दुबधागो लगाउने प्रचलन रहेको छ । विवाहित महिलाहरुले दुबधागो धारण गर्ने गरेका छन् । गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन छ । यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ । 

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारामा लगेर धुने प्रचलन छ । अमुक्ताभरण सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । धानखेतबाट साँवा, अपामार्ग लगायतका वनस्पति ल्याएर गौराको प्रतिमूर्ति बनाउने प्रचलन छ । 

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो । यो वर्ष भदौ १५ मा अठ्यावाली परेको छ । अठ्यावालीका दिन व्रतालु महिलाहरुले गौरा खलामा गौरादेवीको पूजाआजा गर्छन् । गौरामा गाइने फाग र सगुन गाउँदै बिरुडाले गौरा देवीको पूजाआजा गर्ने चलन रहेको आचार्य गणेशदत्त लेखकले बताए । अठ्यावालीका दिन दिनभर गौरा देवीको पूजाआजा गरेर व्रतालु महिलाहरुले दुबधागो धारण गर्ने गर्छन् ।

गौरा माताको प्रसादका रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी, आफन्तजनको टाउको पुज्ने चलन रहिआएको छ । लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रहि आएको आचार्य लेखकले बताए । 

गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रहेको उनले बताए । यो खेलमा शिव पार्वतीको गाथा गाउने पनि गरिने लेखकले बताए । 

यस्तै अठोला पञ्चाङ्गले गौराको शुभकामना दिँदै गौराको शुभसाइत समेत प्रकाशित गरेको छ । पञ्चाङ्कार ज्योतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंह लग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमीतिथि रहेको छ । यसैदिन बिरुडा (पञ्च अनाज) भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ । भदौ १३ गते बिरुडा धुने षष्टितिथि साँझ ५ः५४ बजेसम्म रहेको छ ।

भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहेको छ । यसैदिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भदौ १५ गते दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपरान्ह ३ः५६ बजेसम्म रहेको जनाइएको छ । 

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully