बैतडीको शाहीलेक नजिक जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
बैतडी — बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से१ज २४५ नम्बरको जीप बुधबार दिउँसो २ बजे शाहीलेक नपुग्दै ईश्वरीगंगा जाने बाटो नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
‘घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ,’ उनले भने, ‘चालक रोशन भट्टलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे बुझिरहेका छौं ।’ चालक भट्टको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भए पनि अरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
