झाडीले ढाक्यो सुन्कु टोलको पोखरी

पोखरी मर्मतसम्भारका लागि पालिका कार्यालयमा निवेदन दर्ता गर्न जाँदा उपाध्यक्षले निवेदन नै च्यातेर मिल्काइदिएको वडाध्यक्षको गुनासो ।

भाद्र ७, २०८२

तर्कराज भट्ट

Shrubs covered the pool of Sunku Tol

What you should know

डडेल्धुरा — नवदुर्गा गाउँपालिका–४ सुन्कु टोलमा रहेको सिँचाइ पोखरी दुई दशकदेखि जीर्ण अवस्थामा छ । २०२० सालमा निर्माण भएको ‘सुन्कु सिँचाइ पोखरी’ लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा सिँचाइ सुविधा नपाएर हैरान छन् भने पोखरी झाडीले ढाकेको छ ।

स्थानीय शेरबहादुर विष्टका अनुसार सुन्कु टोलमा सुरुमा १५ परिवारको बसोबास थियो भने अहिले परिवार संख्या बढेर ३० पुगेको छ । तर सिँचाइ सुविधा नहुँदा खेतबारी बाँझै छाड्नुपर्ने बाध्यता छ । ‘पोखरी बिग्रिएपछि हामीलाई ३ किलोमिटर टाढाबाट पाइपद्वारा सिँचाइ गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो त सरासर नागरिकको आधारभूत आवश्यकतालाई बेवास्ता गरेको उदाहरण हो ।’

७५ वर्षीय भीमबहादुर विष्टले पञ्चायतकालमै बनेको पोखरी जीर्ण हुनु दुर्भाग्य भएको बताए । ‘वर्षौंदेखि सिँचाइ सुविधाबाट वञ्चित छौं, पटक–पटक माग गर्दा पनि पालिकाले सुनुवाइ गरेको छैन,’ उनले गुनासो गरे ।

गत वर्ष गाउँपालिकाले पोखरी मर्मतका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याए पनि प्राविधिकको लागत अनुमान अनुसार ६ लाख ८० हजार रुपैयाँ लाग्ने देखिएपछि काम अघि बढ्न सकेन । यस वर्ष वडा कार्यालयले दुई लाख रुपैयाँ छुट्याएको छ । तर थप बजेट माग गर्दा गाउँपालिकाले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । स्थानीय भीम विष्टले भने, ‘समस्या समाधान गर्नुको साटो निवेदन च्यात्नुभयो । यो जनप्रतिनिधिको शैली हुन सक्दैन ।’

४ नम्बरका वडाध्यक्ष पदम विष्टले वडाको सीमित बजेटले ठूला योजना धान्न नसक्ने बताए । ‘स्थानीयले हामीलाई निरन्तर दबाब दिने गर्छन् । तर वडाको सानो बजेटले ठूलो योजना सम्भव हुँदैन,’ उनले भने । उनका अनुसार यस्ता योजनामा गाउँपालिकाको सहयोग अपरिहार्य छ ।

तर, पोखरी मर्मतसम्भारका लागि निवेदन गाउँपालिका कार्यालयमा लगिएका बेलामा विवाद भएको छ । स्थानीयका अनुसार कार्यपालिका बैठकमा राख्नका लागि लगिएको निवेदन उपाध्यक्षले च्यातेको आरोप लागेको छ । वडाध्यक्ष विष्टले भने, ‘अस्ति बुधबारको कार्यपालिका बैठकमा राख्नका लागि स्थानीयले निवेदन लगेका थिए । तर, गाउँपालिका उपाध्यक्षले उक्त निवेदन च्यातेर मिल्काइदिइन् ।’ 

यसबारे गाउँपालिका उपाध्यक्ष निर्मला बोगटीले भने केही नबोल्ने बताइन् । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध बारम्बार स्टाटस आउने गरेको भन्दै यसको कानुनी उपचारमा जाने प्रतिक्रिया दिइन् । स्थानीयले भने पोखरी मर्मत र सिँचाइ सुविधा अभावले खेतीपातीमै असर परेको भन्दै तत्काल समस्या समाधानको माग गरेका छन् ।

तर्कराज

Link copied successfully