पहिरो पन्छाएपछि महाकाली लोकमार्ग खुल्यो

दार्चुलामा लेदोसहितको पहिरोले अवरुद्ध सडक खुलेपछि शुक्रबार साँझदेखि रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन्।

भाद्र ७, २०८२

मनोज बडू

Mahakali Lokmarg was opened after the landslide was removed

दार्चुला — मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकमा पहिरो खसेर अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारू भएको छ ।

लेदोसहितको पहिरोले शुक्रबार साँझदेखि अवरूद्व सडकको पहिरो पन्छाएपछि बिहान साढे ११ बजेदेखि सवारी साधन आउजाउ गर्न थालेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सडक सुचारू भएपछि रोकिएका सवारी साधन गन्तव्यतिर प्रस्थान गरेका छन् । लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको थियो । 

जिल्ला बाहिरबाट आउने र जिल्लाबाट बाहिरिने लामो दूरीका यातायातका साधन हिजो रातिदेखि नै रोकिएका थिए । अहिले भने सडक सञ्चालन भएसँगै लामो दूरीका सवारीसाधन गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

सोही ठाउँमा यही साताभित्रै ३ पटक सडक अबरुद्ध भएको छ । थोरै वर्षा हुँदा पनि लेदोसहितको पहिरो खस्ने हुँदा पटक–पटक सडक अबरुद्ध हुने गरेको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully