सीमावर्ती क्षेत्रमा बर्डफ्लुको संक्रमण, नेपालतर्फ बढ्दो जोखिम

उत्तराखण्डको उद्यमसिंहनगर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकासँगै सीमा जोडिएको क्षेत्र हो । दुवैतर्फका बस्ती एकापसमा जोडिएका कारण उक्त क्षेत्रमा बढी जोखिममा छ ।

भाद्र ६, २०८२

भवानी भट्ट

Bird flu infection in border areas, increasing risk towards Nepal

What you should know

कञ्चनपुर — नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतबाट अवैध रुपमा कुखुराको आयात हुने भएकाले संक्रमणको जोखिम रहेको सरोकारवालाहरु बताउँछन् । 

‘भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने भएकाले संक्रमणको जोखिम देखिन्छ,’ सुदूरपश्चिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. पानसिंह ठगुन्नाले भने, ‘यस क्षेत्रका कुखुरा पालक कृषकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ ।’ उनले संक्रमण भित्रिन नदिन नाकामा रोकथामदेखि चेकजाँमा आवश्यक कडाइ गर्नुपर्ने बताए । 

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार उत्तराखण्डको उद्यमसिंहनगर र बागेश्वरमा केही दिनयता बर्ड फ्लु तीव्र गतिमा फैलिएको छ । जसका कारण उक्त क्षेत्रमा रहेका पोल्ट्री फार्ममा धमाधम कुखुरा मरिरहेका छन् । संक्रमण देखिएको क्षेत्रलाई शिल गरेको अमर उजालाले लेखेको छ । 

‘खासगरी सीमा क्षेत्रमा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ,’ डा. ठगुन्नाले भने, ‘लुकाइछिपाइ आउने कुखुरा र कुखुराजन्य पदार्थमा रोक लगाउनुपर्छ ।’ उनले कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट उक्त सामाग्री आउन सक्ने बताए । 

उद्यमसिंहनगर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकासँगै सीमा जोडिएको क्षेत्र हो । दुवैतर्फका बस्तीहरु एक आपसमा जोडिएका कारण पनि उक्त क्षेत्रमा बढी जोखिम हुन सक्ने देखिन्छ । 

‘हामीले सचेतनाका कामहरु गरिरहेका छौं, स्थानीय तहको सम्बन्धित शाखाले पनि जिम्मेवार हुनुपर्छ,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका पशु विकास निर्देशक श्याम खड्काले भने, ‘जनचेतनाका कामहरु हामीले गरिरहेकै छौं, सीमावर्ती क्षेत्रमा संक्रमण देखिएपछि सबै सजग हुनुपर्छ ।’ 

बर्ड फ्लुको जोखिम र यसबाट हुन सक्ने असरबारे कुखुरा पालक किसानहरुलाई जानकारी दिन सके संक्रमणको जोखिम कम गर्न सकिने पशु विकास निर्देशक खड्का बताउछन् । उनले नाकामा रहेको पशु क्वारेन्टाइनले पनि कडाइका साथ जाँच गर्नुपर्ने बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully