बैंकको पैसा जुवामा लगाउने चार जना कर्मचारी पक्राउ

बैंकका शाखा प्रबन्धक सागर शाहीसहित कर्मचारीहरू निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका हुन्।

श्रावण २६, २०८२

मनोज बडू

Four employees who gambled away the bank's money were arrested

What you should know

दार्चुला — महालक्ष्मी विकास बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाबाट बैंकको पैसा जुवामा लगाउने चार जना बैंकका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बैंकको ठुलो रकम अपचलन गरी अनलाइन जुवामा लगाएको अभियोगमा चार जना बैंक कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। प्रहरीले नियन्त्रणमा लिएका बैंक शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् ।

सो बैंकले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । उनले उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन भएको पाइएको थियो । बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए । जाहेरीको आधारमा उनीहरूलाई साउन २४ गते पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरिएको छ । आइतबार जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो ।

बैंकका अनुसार उनीहरूले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । 


मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully