शुक्रबार राति कैलाली कारागारमा रहेका कैदीबन्दीमाथि सांघातिक आक्रमण हुँदा एकजनाको मृत्यु भएको छ ।
धनगढी — कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ । चिकित्सकहरुले २४ वर्षीय कर्ण सारुमगरलाई काठमाडौं पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार सारुमगरलाई धनगढी विमानस्थलको धनगढी–नियमित उडानबाट काठमाडौं पठाउन लागिएको हो । अहिले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार सारुमगरको बायाँ हातको हड्डी भाँचिएको छ भने हातको नसासमेत फाटेको देखिएको छ । अन्य पाँच घाइतेको शल्यक्रियाको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
शुक्रबार राति कैलाली कारागारमा रहेका कैदीबन्दीमाथि एउटा समूहले अर्को समूहलाई सांघातिक आक्रमण गरेको थियो । त्यस क्रममा धनगढी उपमहानगर ४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । आयुस भट्टलाई शनिबार काठमाडौं लगिएको थियो ।
