बैतडीमा राति एक बजे पहिरो खसेपछि जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने र आउने सवारीसाधन रोकिएका छन्।
बैतडी — हिजोदेखि परेको वर्षाले पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक पहिरो आएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको हो ।
गएराति १ बजेतिर सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको यात्रु पृथ्वीराज अवस्थीले बताए । ‘म चढेको बस पुग्नुभन्दा अगाडि नै थोरै पहिरो गइसकेको थियो,’ उनले भने, ‘पछि पहिरो थपिँदै गएर अहिले पूर्णरुपमा सडक भरी सकेको छ ।’
सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए ।
पहिरो सफा गर्न जेसिबीका लागि सडक डिभिजनसँग समन्वयगरी पहिरो साफा गर्न जेसीबी पठाइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए । सडक अवरुद्ध हुँदा रातिदेखी यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।
अहिले पनि बैतडीमा पानी परिरहेको छ । यो राजमार्गबाहेक जिल्लाका अरु ठाउँका सडक अवरुद्ध भए नभएको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
