अत्तरियादेखि धनगढीको गेटासम्म ५.६ किलोमिटर सडकमा बत्ती जडान हुन लागेको हो ।
What you should know
काठमाडौँ — कैलालीको गोदावरी नगरपालिकाको अत्तरियादेखि धनगढी उपमहानगरपालिकाको सीमाक्षेत्र गेटासम्म ६ लेन सडकमा आधुनिक सडक बत्ती जडान कार्य सुरु भएको छ ।
नगरका मुख्य सडकमा प्रभावकारी यातायात व्यवस्था तथा नगरको सहरी सौन्दर्य अभिवृद्धि गर्ने योजनाअन्तर्गत हाल अत्तरियादेखि गेटासम्म सडकबत्ती जडान कार्य सुरु भएको हो । अत्तरियादेखि धनगढी उपमहानगरपालिकाको गेटासम्म ५ दशमलव ६ किलोमिटर सडकमा सडकबत्ती जडान हुन लागेको हो । ‘गोदावरी नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच भएको सहमतिअनुसार सडकबत्ती जडान हुन लागेको हो,’ गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्टले भने, 'अत्तरिया–धनगढी ६ लेन सडकमा जडान हुन बाँकी छ । गोदावरी नगरपालिका क्षेत्रमा साउनभित्रै सडकबत्ती जडानको काम सम्पन्न हुने गरी काम भइरहेको छ ।’
गोदावरीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्म साढे १४ किलोमिटर ६ लेन सडकमध्ये गेटादेखि भन्सारसम्मको सडकमा यसअघि नै जडान भइसकेको छ । गोदावरी नगरपालिकाका प्रमुख भट्टले आफू निर्वाचित भएर आएलगत्तै २०७९ मा नै सडकबत्ती जडान गर्न चाहे पनि प्राविधिक कारण ढिलो हुन गएको बताए ।
नेपाल विद्युत प्राधिकरण र गोदावरी नगरपालिकाबीच भएको सहमतिअनुसार सडकबत्ती जडान कार्यमा करिब ३ करोड २ लाख ५० हजार लागत लाग्ने अनुमान गरिएको छ । अनुमानित लागत रकमको ६५ प्रतिशत नगरपालिकाले र ३५ प्रतिशत नेपाल विद्युत प्राधिकरणले बेहोर्ने सहमति भएको छ । सडकबत्ती जडानका लागि निर्माण व्यवसायीसँग सम्झौता भएर हासम्म ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
गोदावरी नगर क्षेत्रमा पर्ने ६ लेन सडकको बाँकी भागमा सडकबत्ती जडानसँगै अत्तरिया चोकलाई व्यवस्थित र आकर्षित बनाउन विभिन्न संरचना निर्माण हुन थालेपछि स्थानीयवासीमा खुसी छाएको छ । गोदावरी नगरपालिकाले सडकबत्ती जडानसँगै सडकको मध्यभागमा फूल रोप्ने योजना तयार गरेको छ ।
