सुरेन्द्र चन्दका हजुरबुबा, बुबाले हल्दुविनायक घाटमा महाकाली वारपारको काम गर्दै आएका थिए, बुबाको मृत्युपछि डुंगा चलाउने जिम्मा उनको काँधमा छ
What you should know
बैतडी — पञ्चेश्वर गाउँपालिका–२ डिम्बरका ३४ वर्षीय प्रेम मंगोलाको मोबाइलमा हरेक दिन बिहानै घण्टी बज्छ । उनलाई प्रायः एउटै प्रश्न हुन्छ, ‘आज किस्ती (डुंगा) चालु छ कि बन्द ?’ प्रेमले नदीको सतह खुट्याएर जवाफ दिन्छन्, ‘चालु छ आउनुस्’ । वर्षात्को समयमा प्रेमको मोबाइलमा अधिकांश यस्तै फोन आउँछन् ।
हिउँदमा महाकाली नदीमा पानीको बहाव कम हुने भएकाले जति बेला पनि डुंगा वारपार गर्न सकिन्छ । वर्षात्मा बहाव उच्च हुने भएकाले दैनिक डुंगा चलाउन सकिँदैन । जलस्तर हेरेर मात्र डुंगा चलाउनुपर्ने हुनाले यात्रु फोनबाट सोधेर मात्र आउने गरेका छन् ।
भारत सीमावर्ती बैतडीको तल्लोस्वराड क्षेत्रमा महाकाली नदी तर्न पुल छैन । बल्ल सडक पुगेको यो क्षेत्रका बासिन्दा किनमेल, उपचारलगायतमा भारतीय बजारमा निर्भर छन् । त्यहाँ सडक, बिजुलीदेखि बजार र अन्य विकासका पूर्वाधार पुगेका छन् । नदी छेउ बस्ती भएका स्थानीय अझै पनि मेलापातदेखि किनमेल र भेटघाटका लागि भारततिर जाने गरेका छन् । यहाँका प्रायः सबैको वारिपारि नाता सम्बन्ध छ ।
पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नौवटा घाटमा महाकाली तर्न एक मात्र साधन हो, किस्ती (डुंगा) । हिउँदमा केही ठाउँमा ट्युबबाट पनि वारपार गराइन्छ ।
पालिकाहरूले महाकालीमा डुंगाबाट वारपार गराउन घाट (तारउतार) ठेक्का नै लगाउने गरेका छन् । गत आर्थिक वर्षमा पञ्चेश्वर गाउँपालिकाले ६ वटा घाटको ३ लाख ५५ हजारमा ठेक्का सम्झौता गरेको थियो । चालु आर्थिक वर्षमा अहिलेसम्म ठेक्का आह्वान गरेको छैन ।
यस्तै शिवनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा २ वटा घाटको १ लाख ५५ हजारमा ठेक्का सम्झौता गरेको थियो । चालु आर्थिक वर्षमा १ लाख ८० हजारमा ठेक्का आह्वान गरेको छ । गाउँपालिकाले प्रत्येक वर्ष ५ देखि १० प्रतिशत रकम घाटका ठेक्कामा बढाउने गर्छ ।
प्रेमले महाकालीको भेलमा जोखिम मोलेर डुंगा चलाएको एक दशक नाघिसक्यो । उनको गाउँ डिम्बर महाकाली छेउमै छ । सानैदेखि नदी छेउछाउ खेल्दा उनले डुंगा चलाउन सिकेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ६ मा पढ्दाताका उनी कामको खोजीमा भारतको पञ्जाब पुगे । पञ्जाबमा एक भारतीयको घरमा सात वर्ष काम गरेर फर्केपछि उनले डुंगा चलाउन सुरु गरेका हुन् । हिउँदमा नदी घटेका बेला उनी एक्लै डुंगा चलाउँछन् । वर्षात्मा थप तीन जना मिलेर चलाउने गर्छन् ।
प्रेम कहिले आफै ठेक्का लिएर त कहिले अरू ठेकेदारकोमा चलाउँछन् । उनलाई डुंगा चलाउन मात्रै होइन बनाउन पनि आउँछ । ‘अर्काको ठाउँमा गएर काम गर्नॅभन्दा, यहीँ महाकालीमा पसिना बगाउँदा आनन्द आउँछ । वर्षौंदेखि रोजीरोटी यसैले दिएको छ,’ उनले भने । कहिलेकाहीं माछा मारेर पनि बेच्ने गर्छन् ।
पञ्चेश्वर–४ का २५ वर्षीय सुरेन्द्र चन्द पनि यही काम गर्छन् । महाकालीमा डुंगाबाट वारपार गराउने उनी परिवारका तेस्रो पुस्ता हुन् । उनका हजुरबुबा, बुबाले पनि सोही गाउँको हल्दुविनायक घाटमा वारपारको काम गर्दै आएका थिए । बुबाको मृत्यु भएपछि डुंगा चलाउने जिम्मा सुरेन्द्रको काँधमा आएको थियो । कक्षा १० सम्म अध्ययन गरेका सुरेन्द्र भारतको एक होटलमा काम गरेर फर्केपछि डुंगा चलाउने काम थालेका हुन् ।
‘हिउँदमा एक्लैले चलाउन सकिन्छ । कसैलाई दिनु पर्दैन, चोखो आफ्नो कमाइ हुँदा बचत पनि हुन्छ,’ उनले भने, ‘वर्षात्मा थप दुई जना राखेर चलाउनुपर्छ । जे होस् खर्च त चलेकै हुन्छ ।’ सहयोगीको खानाखाजा व्यहोरेर दैनिक आठ सय रुपैयाँ ज्याला दिनुपर्छ । डुंगाबाट एक जना (एक पटक) तारेको हिउँदमा ८० रुपैयाँ र वर्षात्मा २ सय रुपैयाँ लाग्छ । ठूलो झोला वा सरसामान भए सहमतिमा भाउ तय गरिन्छ । डुंगामा एक पटकमा १० देखि १५ जनालाई तार्न (वारपार) सकिन्छ ।
शिवनाथ गाउँपालिका–१ का ३८ वर्षीय उदयसिंह साउदले महाकालीमा डुंगा चलाउन थालेको १३ वर्षभन्दा बढी भइसक्यो । ‘गत वर्ष शिवनाथको नागर्जॅन घाटको ठेक्का मेरो थियो । ६ जनाको घर खर्च चलाएको छु,’ साउदले भने । उनका बुबाले पनि यसै घाटमा डुंगा चलाउँदै आएका छन् ।
१० वर्ष नियमित आफैं ढोयाघाटमा ठेकेदार भएर डुंगा चलाएका पञ्चेश्वर–२ का ४४ वर्षीय गोपाल चन्दको पनि बेग्लै कथा छ । १३ वर्षकै उमेरमा कामको खोजीमा गएका उनी २१ वर्षसम्म भारतको विभिन्न ठाउँमा बसे । ८ वर्षदेखि उनी आफैं ठेक्का लिएर डुंगा चलाइरहेका छन् । उनी एक कार्यकाल वडा सदस्य पनि भए । जनप्रतिनिधि हुँदा पनि उनले डुंगा चलाउन छाडेनन् ।
पाटन–पञ्चेश्वर सडकमा नियमित गाडी चल्न थालेपछि डुंगामा वारपार गर्नेको संख्या घटेको उनीहरू बताउँछन् । सडक नहुँदा शिवनाथ र पञ्चेश्वर गाउँपालिकाभरिका बासिन्दा भारत मात्र होइन, तराईतिर (कैलाली–कञ्चनपुर) जान पनि यसै बाटो हिँड्थे । स्थानीय व्यापारी पनि भारतबाट डुंगामा तारेरै सामान ल्याउँथे । अहिले प्रायः गाउँनजिक सडक पगेपछि डुंगाको जोखिमपूर्ण यात्रा गर्नेको संख्या एकदम घटेको छ ।
‘व्यापारीले त सामान ल्याउन पटक्कै छोडिसके, तराईतिर पनि नेपालबाटै बस चढेर जान्छन्,’ उदयसिंह साउँदले भने, ‘हिउँदमा मजदुरी गर्न भारत जाने र छेउछाउका मेलापातदेखि भेटघाटमा जानेले मात्र डुंगा चलेको छ न त अब बन्द हुने अवस्थामा छ ।’
स्थानीयले सिमल, सल्लाको काठबाट आफै डुंगा बनाउँछन् । एउटा डुंगा बनाउन एक लाख बढी खर्च हुन्छ । डुंगालाई राम्रो जतन गरेर चलाए ३ वर्ष धान्ने डुंगा चालक बताउँछन् । डुंगामा वारपार गराउँदा कैयौं पटक दुर्घटना पनि भएका छन् । त्यसैले तल्लोस्वराड क्षेत्रलाई भारतसित जोड्न महाकालीका तीन ठाउँमा झोलुंगे पुल बनाउनुपर्ने माग स्थानीयले गर्दै आएका छन् । ‘पञ्चायतदेखि अहिलेसम्म झोलुंगे पुलको माग गर्दै आएका छौं,’ पञ्चेश्वरका स्थानीय ७४ वर्षीय भवानी चन्दले भने, ‘पुल कहिले बन्ने हो थाहा छैन ।’
झोलुंगे पुल निर्माणका लागि प्रदेशदेखि संघीय सरकारसम्म पहल भइरहे पनि अहिलेसम्म टुंगो नभएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । भारतीय राजदूतावासको आयोजनामा गत साता सुदूरपश्चिमका सीमावर्ती जिल्लाका स्थानीय तह प्रमुखहरूको भारत भ्रमणमा पनि शिवनाथ र पञ्चेश्वरमा पुल निर्माणको विषय उठाएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । भारतीय पक्ष पुल बनाउन सकारात्मक देखिएकाले नेपालका तर्फबाट डीपीआर बनाएर पहल थाल्नुपर्ने उनले सुनाए ।
