कैलालीमा कार्यरत दुई कामदारबीच विवादपछि चक्कु प्रहार हुँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
धनगढी — शनिबार बिहान चक्कु प्रहार गरी कैलालीमा एक किशोरीको हत्या गरिएको छ । बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एन्ड मम सेन्टरमा कार्यरत बर्दगोरिया–३ की १७ वर्षीया याचना सेजुवालको चक्कु प्रहार गरी हत्या गरिएको हो ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहका अनुसार याचनामाथि सोही बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउँदले चक्कु प्रहार गरेका थिए । उनीहरू दुवै सोही सेकुवा सेन्टरमा काम गर्दै आएका थिए ।
प्रवक्ता सिंहले भने, 'शनिबार बिहान भान्सामा दुवैबीच विवाद भएपछि नृपले चक्कु प्रहार गरेको बुझिएको छ । विवादको कारण भने खुलेको छैन ।' उनका अनुसार घाइते अवस्थामा रहेकी याचनालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नृपलाई भाग्ने क्रममा पक्राउ गरिएको छ ।
