माओवादीको पार्टी कार्यालयमै कुटाकुट, अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज गम्भीर घाइते

भीमदत्त नगर कमिटी सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच आइतबार साँझ कुटाकुट भएको हो ।

श्रावण १२, २०८२

भवानी भट्ट

Maoist's party office attacked, Akhil Revolutionary's provincial in-charge seriously injured

कञ्चनपुर — नेकपा माओवादी केन्द्रको महेन्द्रनगरस्थित पार्टी कार्यालयमा दुई जनाबीच कुटाकुट भएको छ । 

भीमदत्त नगर कमिटी सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच आइतबार साँझ कुटाकुट भएको हो ।

विष्टको कुटपिटबाट भट्ट गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्ट पनि सामान्य घाइते भएको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले बताए । उनी प्रहरी निगरानीमै छन् । 

उनका अनुसार पार्टी कार्यालयमा छलफलकै क्रममा दुई जनाबीच कुटाकुट भएको हो । नेकपा माओवादी केन्द्रले पनि विष्टलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

अखिल क्रान्तिकारीको छलफल भइरहेका बेला पूर्व रिसिइबी पोखेर विष्टले भट्टमाथि आक्रमण गरेको माओवादी केन्द्र कञ्चनपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully