यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि पश्चिम तराईमा साउन दोस्रो सातासम्म फाटफुटबाहेक निरन्तर भारी वर्षा हुन सकेन
What you should know
धनगढी — पूर्वी तराईमा मनसुनी वायुको प्रभाव कमजोर भएर निरन्तर वर्षा हुन नसकेको अवस्थामा पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि पर्याप्त पानी नपर्दा किसान चिन्तित हुन थालेका छन् । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि पश्चिम तराईमा साउन दोस्रो सातासम्म फाटफुटबाहेक निरन्तर भारी वर्षा हुन सकेको छैन ।
‘यो वर्ष मनसुन भित्रिएपछि पहिलो ठूलो वर्षा ३० जुनमा भएको हो,’ जल तथा मौसम विज्ञान कार्यालय कैलाली अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहले भने, ‘३० जुनमा २१२ मिलिमिटर वर्षा कैलालीको धनगढीमा भएको हो, त्यसपछि वर्षायाम जस्तो २/३ दिन निरन्तर पानी परेको छैन ।' ३० जुनको पहिलो ठूलो वर्षाका बखत कैलाली सदरमुकाम धनगढी बजार क्षेत्र पूरै जलमग्न भई डुबान भएको थियो ।
इन्जिनियर शाहका अनसार ३० जुनयता सुदूर तराई क्षेत्रमा निरन्तर वर्षा भएकै छैन । कैलाली र कञ्चनपुरको अधिकांश रोपाइँ असार अन्तिम सातासम्म सकिएको थियो । साउनमा रोपाइँ गरिएका खेतमा जताततै मनसुनी झरीको पानी देखिनुपर्नेमा आकासे पानीको भरका खेत सुक्खा हुन थालेका छन् ।
यो वर्ष मनसुन विगतभन्दा १५ दिन अगावै भित्रिने मौसम तथा जलवायु विज्ञान विभागले पूर्वानुमान गरेको थियो । जेठ १५ मा पूर्वी नेपालबाट भित्रिएको मनसुन कोशी प्रदेशमा सीमित हुन पुग्यो । कमजोर मनसुनी प्रणाली प्रवेश गरेका कारण मनसुन देशको अन्य भागमा फैलिन नपाउदै अन्यत्र डाइभर्ट भएको थियो ।
‘दोस्रो पटक जेठ २९ मा पुनः मनसुन भित्रियो, जुन कोशी, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशको थोरै भूभागमा सीमित भयो,' शाह भन्छन्, ‘असार ६ गते मात्रै सुदूरपश्चिमसहित देशभर मनसुन फैलिएको हो ।’ नेपालमा सरदर १३ जुन भित्र मनसुन भित्रिने गरेको छ ।
मधेश प्रदेशको अधिकांश भूभागमा वर्षा नभएर संघीय सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको अवस्थामा सुदूरपश्चिममा भने यसपालि सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको थियो । सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएका जिल्लामा तराई क्षेत्रका कैलाली र कञ्चनपुरसँगै डोटी, डडेलधुरा र अछाम रहेका छन् । ‘तराई र पहाडका यी सबै जिल्लामा यसबर्ष ४५ देखि ५५ प्रतिशत र बाजुरा, बझाङ र अछाममा ५५ देखि ६५ प्रतिशत तथा बाँकी अन्य जिल्लामा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने आकलन गरिएको थियो,’ कार्यालय प्रमुख शाहले बताए ।
विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन थालेपछि बढी वर्षा हुने हिमाली भेगका पहाडी क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय कैलाली अत्तरियाका प्रमुख शाहका अनुसार हिमाली जिल्लामा तापक्रम बढ्दै गएका कारण हिउँ पग्लने, ससाना हिमताल फुटने भएर गेग्रानसहित बाढी जुनसुकै बेलामा आउन सक्ने उच्च जोखिम रहेको छ । ‘भोटेकोशी, रसुवा, मुस्ताङ र हुम्लाको तिलगाउमा भएको विनाशकारी बाढीको घटना हेर्ने हो भने नेपालका हिमाली भेगमा बढ्दो तापक्रमका कारण हिउँ पग्लेर बाढीले जुनसुकै बेला तहसनहस गर्न सक्ने जोखिममा रहेको छ,’ उनले भने ।
