विपद्‌बाट जोगिने तरिका सिकाउँदै सेना

श्रावण ५, २०८२

मेनुका ढुंगाना

Army teaching how to avoid disaster

What you should know

अछाम — नेपाली सेनाले अछामका दसवटै स्थानीय तहमा पुगेर विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेर जनचेतना फैलाउन थालेको छ ।

अछामको मंगलसेन ब्यारेकमा रहेको नेपाली सेनाको गोरख बक्स गणले जिल्लाका दुर्गम ठाउँमा पुगेर चेतना जगाउनेदेखि प्रयोग गरिएका सेनेटरी प्याड डिस्पोजल गर्ने मेसिनसम्म वितरण गरिरहेको छ । जिल्लाको दुर्गम मानिने तुर्माखाँद गाउँपालिका-१ रहफमा रहेको बिन्द्रासैनी मावि र मंगलसेनस्थित सुरक्षित आवासगृहमा आफ्नै जनशक्तिबाट तयार पारेको विद्युतीय मेसिन पनि उपलब्ध गराएको छ ।

नेपाली सेनाले अछामका दसवटै स्थानीय तहमा पुगेर विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेर जनचेतना फैलाउन थालेको छ । गोरख बक्स गणका सेनानी अमृत खड्काको नेतृत्वमा विपद् सम्बन्धी पूर्वाभ्यासमा आगलागी, भूकम्पबाट बच्ने तरिका, भीरबाट लड्दा गरिने उद्धार, ग्यास सिलिन्डरमा वा बस्ती, जंगलमा आगो लाग्दा निभाउने तरिकाबारे जनचेतामूलक कार्यक्रम भएको हो । ‘पहिलेका वर्ष विपद्सम्बन्धी पूर्वाभ्यास जिल्लामा एकपटक एक ठाउँमा मात्र गरिन्थ्यो । अहिले सबै स्थानीय तहमा पुगेर सर्वसाधारणलाई जनचेतनामूलक जानकारी दियौं,’ उनले भने, ‘पहिले विपद् व्यवस्थापन सम्बन्धी प्ररिक्षण दिने र त्यसपछि कृतिम घटनाबाट अभ्यास गरेर देखायौं ।’

गणको ४० जनाको टोली अहिले अछामका विभिन्न स्थानीय तहमा गएर विपद् व्यवस्थापन समबन्धी कार्यक्रम गरिएको छ ।

Army teaching how to avoid disaster

ढकारी गाउँपालिकाबाट सुरु गरिएको विपद् व्यवस्थापन सम्बन्धी पूर्वाभ्यास कार्यक्रम मनसुनजन्य विपद् व्यवस्थापनको कृत्रिम घटना देखाएर साँफेबगरमा पुगेर टुंगिएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए । ‘आगलागी , डढेलो लाग्ने मौसम अहिले भएकाले यही समयमा जनचेतनामूलक कार्यक्रम र कृत्रिम अभ्यास गरेका हौं,’ उनले भने, ‘स्थानीय तहमा विपद् व्यवस्थापनसम्बन्धी सामग्री पनि छन् तर प्रयोग गर्ने विधिबारे अलमलिएको पनि देखियो । यो कार्यक्रम सबै स्थानीय तहमा आवश्यक भएको महसुस भयो ।’

नेपाली सेनाले विपद्‌बाट जोगिने तरिका सिकाउँदा धेरैले नयाँ कुरा थाहा पाएको तुर्माखाँद गाउँपालिका-४ का जयबहादुर बुढाले बताए । ‘आर्मीलाई गाउँका धेरैजसो मान्छेले पहिलो पटक नजिकबाट देखेका छन् । अझै उनीहरुले विपद् सम्बन्धी काम गर्छन् भन्ने त थाहा पनि थिएन,’ उनले भने, ‘सामान्य लापरबाहीले कसरी ठूलो घटना निम्तिन्छ र घटना घटिहाल्यो भने के गर्ने भन्नेबारेमा हेरेरै जान्ने मौका मिल्यो ।’

आगलागी, डढेलो लाग्ने मौसम सुरु भएको र मेलापात गर्दा कसरी जोगिने र आगो नियन्त्रणमा लिने भन्नेबारेको कृत्रिम घटना हेर्दा महिलालाई बढी प्रभावकारी भएको तुर्माखाँद-४ की नैना बुढाले बताइन् । ‘जंगलमा कहिलेकाहीँ हाम्रै लापरबाहीले पनि आगो लाग्छ । यस्तो बेला के गर्ने, कसो गर्ने भनेर अलमलिन्थ्यौं । यो कार्यक्रम सबै महिलाले हेर्न पाए धेरै जानकारी पाउँथे,’ उनले भनिन् , ‘गाउँमा भरखरै ग्यास सिलिण्डर आएका छन् । यसको प्रयोग गर्ने तरिका पनि धेरैलाई थाहा छैन । यसरी गाउँमा आएर अभ्यास गरेरै देखाउँदा हामी सचेत भएका छौं ।'

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully