यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

श्रावण ३, २०८२

रञ्जना बिसी

Orientation of health workers on sexual and gender minorities

What you should know

कैलाली — यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेशी र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउन कैलालीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइएको  छ ।

एकता नेपालको आयोजना र नोभा अस्पतालको सहकार्यमा यो समुदायका व्यक्तिलाई सेवा प्रवाह सुधार गर्न तालिम दिइएको हो ।

कार्यक्रममा एकता नेपालका प्रमुख कार्यकारी निर्देशक राज चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायप्रति अझै पनि अस्पताल र स्वास्थ्य सेवामा विभेद हुने गरेको बताए । उनले बच्चा जन्मिँदा एउटा यौनाङ्ग हेरेर मात्रै लिङ्ग निर्धारण गर्ने गरेको बताए । तर अन्तरलिङ्गी व्यक्ति महिला वा पुरुष दुवै यौनाङ्ग लिएर जन्मिए पनि डाक्टरले जुन अङ्ग देख्यो त्यही पहिचान दिने गरेको बताए । उनका अनुसार अन्तरलिङ्गी व्यक्ति लाखौँमा एक जना हुन्छन् तर पहिचानको अभावमा उनीहरूलाई सेवा दिन समस्या हुन्छ।

कार्यक्रममा महिला पुस्थापना केन्द्र ओरेक कैलालीकी अध्यक्ष गीता चौधरीले  लैङ्गिक हिंसा अझै व्यापक रहेको बताइन्। उनका अनुसार ओरेकमा एक महिनामा ३० देखि ३२ वटा घरेलु हिंसासम्बन्धी उजुरी आउँछन् । तर अहिलेसम्म कुनै पीडित पुरुष  भने खुलेर नआएको बताइन्। 'पुरुषहरू पनि हिंसामा पर्छन, तर समाजले उनलाई बलवान् बनाइदिएका कारण उनीहरू पीडा बोल्न सक्दैनन् ।'

नोभा अस्पतालका डाक्टर लोकराज भट्टले अस्पतालमा आउने बिरामीले आफ्नो पहिचान लुकाउँदा उचित सेवा दिन कठिन हुने अनुभव सुनाए ।  'हामीले जाँच गर्ने, सेवा दिने बेलामा पनि यौनिक पहिचान लुकाउँदा समस्याहरू उत्पन्न हुन्छन् । त्यस्तो अवस्थामा हामीलाई अप्ठ्यारो पर्छ,' उनले भने । यो समुदायका व्यक्ति खुलेर आए आफूहरूलाई सेवा दिन सहज हुने पनि उनले बताए । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय  समान व्यवहार र पहुँच सुनिश्चित नभएसम्म पछाडि पर्ने एकता नेपालका निर्देशक  चौधरीले बताए ।  कार्यक्रममा अन्य सहभागीले यो समुदायसँग सम्बन्धित आधारभूत जानकारी, यौनिक विविधता, सेवा दिने क्रममा अपनाउनु पर्ने संवेदनशीलता र मानवअधिकारको दृष्टिकोणबारे छलफल गरेका थिए ।

रञ्जना

Link copied successfully