बाढीको डरले चौपाया र अन्न सार्दै कुतियाकभरवासी

भारतसँग सीमा जोडिएको यो बस्तीमा ४० परिवारको बसोबास छ। महाकाली नदीको बहाव सिधै बस्तीतिर सोझिएकाले यस वर्ष स्थानीय अझ बढी त्रसित छन्।

श्रावण २, २०८२

भवानी भट्ट

Residents of Kutiakbar are moving cattle and food due to fear of floods

What you should know

कञ्चनपुर — एकातिर जोगबुडा नदी, अर्कोतर्फ महाकाली। दुवै नदीको संगमस्थलमै अवस्थित छ दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकभर बस्ती। दुवै नदीमा पानीको बहाव बढ्दा सबैभन्दा पहिले यही बस्ती डुबानमा पर्छ। महाकालीको बाढीले जोगबुडाको बहाव रोक्दा कुतियाकभर हरेक वर्ष डुबानमा पर्दै आएको छ।

‘यो वर्ष अहिलेसम्म त त्यस्तो बाढी आएको छैन, तर कुन दिन बस्ती नै डुबाउने गरी आउँछ र सबैको भागाभाग चल्छ,’ स्थानीय खड्के बुढाले भने। बाढी पसेपछि भाग्ने ठाउँसमेत नपाइने भएकाले उनले काठको डुंगा बनाएका छन्, जसको सहाराले परिवार र गाउँलेको उद्धार गर्छन्।

भारतसँग सीमा जोडिएको यो बस्तीमा ४० परिवारको बसोबास छ। महाकाली नदीको बहाव सिधै बस्तीतिर सोझिएकाले यस वर्ष स्थानीय अझ बढी त्रसित छन्। वर्षा धेरै हुने पूर्वानुमानले त्रास थपिएको छ। कटान रोकथामका लागि तटबन्ध निर्माणको माग भए पनि पूरा हुन सकेको छैन।

बाढीबाट जोगाउन कतिपयले गाईभैंसी र अन्न सुरक्षित स्थानमा सार्न थालेका छन्। बुढाले पनि धान, गहुँ र गाईबस्तु जोगबुडा नदीपारि बैदीफाँटामा सारेका छन्। साना नातिनातिनालाई पनि सार्ने तयारीमा छन्। बैदीफाँटामा कसैले आफ्नै जग्गामा, कसैले छिमेकीकोमा टहरा बनाएर सरसामान राखेका छन्।

‘धेरैले अन्नपात र गाईभैंसी सुरक्षित स्थानमा सारिसकेका छन्,’ विपद् व्यवस्थापन समिति संयोजक टेकबहादुर सुनारले बताए। ‘मान्छे त सेफहाउसमा बसौंला, तर गाईबस्तु र अन्नपात कसरी जोगाउने?’

गत वर्ष कुतियाकभरमा दुईवटा सेफहाउस निर्माण गरिएका थिए। बाढी पसेपछि स्थानीय त्यहीँ बस्छन्। सुनारका अनुसार तीन परिवारले अन्न, गाईबस्तु र साना बालबालिकालाई जोगबुडा पारि अग्लो ठाउँमा सारिसकेका छन्। कतिपयले आफ्नै ठाउँमा उचो स्थान बनाएर अन्न र चौपाया राखेका छन्।

जोगबुडा नदीमा झोलुंगे पुल निर्माण गरिएको छ, तर बाढीका बेला पुलसम्म पुग्नसमेत गाह्रो हुन्छ। त्यति बेला सुरक्षाकर्मीको सहारामा उद्धार गरिन्छ।

जोगबुडा नदीका कारण दोधारा चाँदनीका आधा दर्जन बस्ती बर्सेनि डुबानमा पर्छन्। तर कुतियाकभर भने महाकालीमा बाढी आउनासाथ डुबानमा पर्छ। यहाँ अधिकांश कच्ची घर छन्, दलित र विपन्न परिवारको बसोबास छ। गत वर्ष असार अन्तिम साता र भदौमा आएको बाढीले एक दर्जन घर भत्काएको थियो।

स्थायी समाधानका लागि जोगबुडा र महाकालीमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने स्थानीयको माग छ। खर्च धेरै लाग्ने भएकाले बस्ती नै सुरक्षित स्थानमा सारिदिनुपर्ने उनीहरूको भनाइ छ। कतिपय परिवारले बसाइँ सरेका छन्, केही भारतसमेत पसेका छन्।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully