What you should know
डोटी — डोटीमा ११ दशमलव ६८ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् ।
जिल्लाको जनसंख्या २ लाख ४ हजार ८ सय ३१ रहेकामा २३ हजार ९ सय १५ जनाले मात्रै स्वास्थ्य बिमा गरेको कार्यालय जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको संख्या २२ प्रतिशत रहेको छ । जिल्लामा स्वास्थ्य बिमा गर्ने घरपरिवारको संख्या ९ हजार २ सय ५५ रहेको प्रमुख रमेश मलासीले बताए । यहाँ स्वास्थ्य बिमा गर्नेहरूको संख्या पनि कम छ । 'जिल्लामा २०८०/०८१ मा दुई हजार तीन सय ८१ जनाले नयाँ स्वास्थ्य बिमा गरेकामा २०८१/८२ मा एक हजार पाँच सय तीन जनाले मात्र बिमा गरेका छन्,' उनले भने ।
जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बिमा गर्ने दिपायल सिलगढी नगरपालिकामा र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा छन् । दिपायल सिलगढीमा २ हजार ७ सय ८१ घरपरिवारका ८ हजार ७ सय १ जना स्वास्थ्य बिमाको पहुँचमा छन् । बोगटानका ५९ घरपरिवारका २ सय ३८ जनाले मात्रै स्वास्थ्य बिमा गरेका छन् ।
नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले सामाजिक सुरक्षाअन्तर्गत २०७२ सालदेखि लगातार नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । डोटीमा स्वास्थ्य बिमा २०७६ सालदेखि लागू भएकोमा २०७७ सालदेखि कार्यान्वयनमा आएको हो ।
