महाकालीमा खसेका एक व्यक्तिको सकुशल उद्धार

श्रावण १, २०८२

मनोज बडू

Safe rescue of a person who fell in Mahakali

What you should know

दार्चुला — महाकाली नदीमा फसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार दिउँसोतिर महाकाली नगरपालिका-४ खुल्लामञ्चको मुनितिर नदीको बीचमा फसेका पुरुषको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नदीमा फसेका रुकुमको मुसिकोट घर बताउने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजको टोलीले उनको सकुशल उद्धार गरेको हो ।

केसी बुधबार मात्रै गाडीमा दार्चुला सदरमुकाम पुगेका थिए भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्रबहादुर रावलले बताए । ती व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको समेत प्रहरीले जनाएको छ ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully