पाटन नगरपालिका उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

असार २९, २०८२

मोहन चन्द

Lockdown in Patan Municipal Deputy Chief's office

बैतडी — बैतडीको पाटन नगरपालिकामा उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा तालाबन्दी गरिएको छ । नगरपालिकाभित्र भएको भनिएको अनियमितताका विषयमा छानबीन हुनुपर्ने माग गर्दै पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको अगुवाईमा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । 

‘स्वयं उपप्रमुखले नगरपालिकाभित्र अनियमितता भएको भनेर तालाबन्दी गरेको तर त्यो विषयमा कुनै छानबिन समेत नगरी तालाबन्दी खोलिएको छ, यो विषयमा स्पष्ट नहुँदासम्म उपप्रमुखको कार्यकक्षमा तालाबन्दी रहिरहन्छ,' भट्टले भने, 'अनियमितता भएको भन्दै तालाबन्दी गरिएकाले उपप्रमुखज्यूले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्छ ।’

असार २६ गते उपप्रमुख बोहराको नेतृत्वमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले आम उपभोक्ता समिति तथा निर्माण कम्पनीबाट नगद आर्थिक लेनदेन गराउन बाध्य पारेको गुनासो आएकाले छानबिन गरिनुपर्ने मागसहित लेखा शाखामा तालाबन्दी गरेका थिए । आइतबार नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिको टोली, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, जनप्रतिनिधिले छलफल गरी लेखा शाखाको ताला खोलिएको छ ।

छलफलमा ताला लगाउने जनप्रतिनिधिहरुले ताला लगाउन गल्ती गरेको र ताला खोल्नु पर्ने भनेपछि लेखा शाखाको ताला खोलिएको छलफलमा सहभागी जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले जानकारी दिए ।

ताला खोल्ने विषयमा अस्ती जिल्ला प्रशासन कार्यालयमा विवादित विषयमा सत्यतथ्य छानबिन गर्ने भनी निर्णय गरी ताला खोल्ने सहमति भएको थियो, आजको छलफलको विषयमा आफूलाई कुनै जानकारी नभएको नगर उपप्रमुख बोहराले बताए । ‘आज म बाहिर थिए मेरो कार्यकक्षमा ताला लगाएको भन्ने मिडियाबाट मात्र थाहा पाए,’ उनले भने ।

पाटन नगरपालिका नगरप्रमुख गौरी सिंह रावलसहित जिल्लाका अरु स्थानीय तहका प्रमुखहरु अहिले भारत भ्रमणमा छन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully