सत्तारूढ दलकै चर्को आलोचनासँगै सुदूरपश्चिमको बजेट पारित

असार १८, २०८२

अर्जुन शाह

Passing the budget of Far West with strong criticism from the ruling party

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएका बजेटसम्बन्धी विधेयकहरू बुधबार प्रदेश सभाको बैठकबाट सर्वसम्मतिले पारित भएका छन्।

बजेटमाथिको छलफलका क्रममा सत्तारूढ र विपक्षी दलका अधिकांश सांसदहरूले बजेटको चर्को आलोचना गर्दै छानबिनको माग गरेका थिए।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट पारितका लागि गरेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएपछि पारित गर्न प्रस्ताव गरेका थिए। उनले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। कुल बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात् ५९.२५ प्रतिशत विनियोजन गरिएको छ भने चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३०.४९ प्रतिशत विनियोजन गरिएको छ।

बजेटसम्बन्धी विधेयकहरू निर्णयार्थ पेस हुनुअघि बुधबारको बैठकमा भएका छलफलमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, धर्मराज पाठक, कांग्रेस सांसद पदमबहादुर शाही, माओवादी सांसद रमेशसिंह धामी र एकीकृत समाजवादीका प्रकाश रावलले बजेटमाथि आफ्ना धारणा राखेका थिए।

एमाले संसदीय दलका नेता रावलले प्रतिपक्षी दलहरूप्रति गरेको टिप्पणी विवादित बनेको थियो। उनले ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिँदैन’ भन्ने टिप्पणी गरेका थिए। नेता रावलको भनाइप्रति प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद मानबहादुर धामीले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह गरेका थिए। धामीको नियमापत्तिपछि सभामुख भण्डारीले रावलका अभिव्यक्तिमाथि छानबिन गरेर रेकर्डबाट हटाइने बताएका थिए।

नेता रावलले प्रतिपक्षी दलहरूलाई 'तपाईँहरूलाई यति बेला चपरीमुनी बास बस्ने म्यान्डेट छ, चपरीमुनी नै बस्नुस्। उक्साहट र हीनताबोध नगर्नुस्, गीत नगाउनुस्' भनेका थिए। हाल सुदूरपश्चिममा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरू विपक्षमा छन्। कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार गठन भएको छ।

संसदीय दलका नेता रावलले बजेटको समर्थनमा धारणा राखेका भए पनि उनीपछि बोल्ने एमालेकै सांसद धर्मराज पाठकले भने बजेटको आलोचना गरेका थिए। पाठकले बजेटमा बदमासी भएको बताउँदै छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए। 'मुख्यमन्त्रीज्यू, छानबिन समिति गठन गरौं,' सांसद पाठकले भने, 'बजेटमा बदमासी भएको छ, एक–एक बदमासी पत्ता लाग्छ, यसलाई रोक्न जरुरी छ।'

उनले प्रदेशमा कमाउधन्दा चलिरहेको दाबी गरे। भौतिक पूर्वाधार विकास मन्त्रालयप्रति टिप्पणी सार्वजनिक भइरहेको बताउँदै मन्त्रीमाथि नैतिक प्रश्न उठेको बताएका थिए। 'हाकाहाकी पैसा लिएको कुरा उठिरहेको छ। होटलका नाम पनि भनिरहेका छन् सांसदहरूले। प्रदेश सभाकै बैठकमै प्रमाण दिन्छौँ भनिरहेका छन्,' सांसद पाठकले भने, 'सम्बन्धित मन्त्रीमाथि यो नैतिक प्रश्न हो कि होइन?'

सांसद पाठकले अगाडि भने, 'दुई–चार करोडका लागि मात्र राजनीतिमा आएका हौं भने ठीकै छ, तर यत्ति नै अन्तिम हो, पछि के हुन्छ, हुन्छ भन्ने लागेको छ। कतिपयलाई यसपछि प्रदेश सभामा आइन्छ कि आइँदैन, जनताले चुनाव जिताउँछन् कि जिताउँदैनन् भन्ने लागेको छ,' उनले भने, 'आफ्नै राजनीतिक भविष्यमाथि शंका भएकाहरूले बदमासी गरिरहेका छन्।' उनले अहिलेको शासन व्यवस्था सिद्ध्याउने मान्छे यो हलभन्दा बाहिर होइन, भित्र धेरै रहेको टिप्पणी गरे।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully