उत्तरी सीमामा पहिलो पटक पुगे सीडीओ

सीमा सुरक्षा पोस्ट स्थापना गरिने 

असार १४, २०८२

वसन्तप्रताप सिंह

CDO reached the northern border for the first time

बझाङ — बझाङको उरै भन्जयाङमा रहेको नेपाल र चीनको सीमा अनुगमनमा सुरक्षाकर्मीको नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठी पुगेका छन् ।

वन्यजन्तुका अखेटोपहार र जडीबुटी तस्करीका लागि कुख्यात यो नाकामा अनुगमनका लागि पुग्ने ठकुराठी पहिलो सीडीओ हुन् ।

सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिको नियन्त्रणका लागि योजना निर्माण गर्न र सीमाको नियमित अनुगमनका लागि सुरक्षा अधिकारीसहित त्यहाँ पुगेको ठकुराठीले बताए । परम्परादेखि नै तिब्बत नेपालबीच व्यापारिक तथा धार्मिक यात्रा हुने गरेको यो नाका औपचारिक रूपमा खोल्न सके बझाङमात्रै नभएर सुदूरपश्चिमको व्यापार र पर्यटनमा वृद्धि हुने भन्दै उनले त्यसका लागि पहल गरिने बताए ।

CDO reached the northern border for the first time

‘व्यापारिक, धार्मिक र पर्यटकीय हिसाबले यो नाका खोल्न आवश्यक छ,' उनले भने, ‘नाका औपचारिक रूपमा खुल्यो भने त्यहाँ हुने गैरकानुनी ओसारपसारका गतिविधिहरू त्यसै पनि नियन्त्रण हुनेछन् ।' उनले यो नाकालाई औपचारिक रूपमा खोल्नका लागि गृह मन्त्रालयमार्फत पहल गरिने बताए । 

कोरोना महामारीपछि चीनले तिब्बतको मानसरोवर तालमा प्रवेश रोक लगाउँदा बझाङका स्थानीयको कुलपूजा छ वर्षदेखि रोकिएको छ । मानसरोवर तालको जल ल्याएर मन्दिरमा चढाएपछि मात्रै पूजा सम्पन्न हुने परम्परादेखि चल्दै आएको धार्मिक कार्यमा रोकिएको बारेमा पनि चीनका अधिकारीसँग कुरा गरिने ठकुराठीले जानकारी दिए ।

CDO reached the northern border for the first time

चीनको ताक्लाकोटसँग सीमा जोडिएका नेपालको हुम्ला, बझाङ र दार्चुला जिल्लाका सुरक्षा अधिकारीको सीमा सुरक्षासम्बन्धी बैठक चीनको पुराङ काउन्टीले प्रत्येक वर्ष आयोजना गर्ने गरेको तर अहिलेसम्म कुनै पनि बैठकमा बझाङका सुरक्षा अधिकारीको उपस्थिति नरहेको बताउँदै सीडीओ ठकुराठीले यस वर्ष आयोजना हुने बैठकमा बझाङको पनि उपस्थिति रहने र सीमासँग जोडिएका अपराध लगायतका विषयमा छलफल हुने बताए । 

CDO reached the northern border for the first time

सीमा अनुगमन टोलीमा सशस्त्र प्रहरीका डीएसपी दुर्गाप्रसाद भट्ट, नेपाली सेनाका मेजर रमेश बानियाँ, नेपाल प्रहरी लगायतका ३३ जना सहभागी थिए । पाँच दिन पैदल हिँडेर उक्त टोली समुद्र सतहदेखि पाँच हजार २२० मिटरको उचाइमा रहेको नेपाल-चीन सीमा पिलर नं २ सम्म पुगेको थियो । 

वन्यजन्तुका अखेटोपहार, जडीबुटी र अन्य अवैध कारोबार रोक्नका लागि छिट्टै सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गरिने सशस्त्र प्रहरीका डीएसपी दुर्गादत्त भटले बताए । उरै भन्ज्याङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट स्थापनाका लागि गृह मन्त्रालयबाट स्वीकृत भइसकेको र सशस्त्र प्रहरी आन्तरिक तयारीमा रहेको बताउँदै उनले भने, ‘ठूलो भूगोल र सुरक्षा संयन्त्रको उपस्थिति नभएका कारण गैरकानुनी गतिविधि गर्नेलाई सजिलो भएको छ । बीओपी स्थापना भएपछि यसको नियन्त्रण हुन्छ ।'

उनले अबको एक वर्षभित्र उरै भन्ज्याङमा सशस्त्र प्रहरीको पोस्ट स्थापना गर्ने गरी काम भइरहेको बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully