डोटी पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

असार १२, २०८२

मोहन पनेरु

Doti full vaccination assurance and sustainability district declaration

डोटी — जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीबार डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

पूर्ण खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले सिलगढीमा आयोजित एक समारोहका बीच पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

१५ महिनामुनिका बालबालिकाको संख्या ३ हजार ४ सय ५३ रहेको र उनीहरुमध्ये खोप लगाउनेको संख्या नभेटिएको नभेटिएपछि  पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । जिल्लाका नियमित खोप लगाउने जन्मेदेखि १५ महिनासम्मका ३ हजार ४ सय ५३ बालबालिकालाई पूर्ण रूपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको उनले बताए ।

जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या १० हजार ४ सय १५ रहेको छ । त्यसमध्ये खोपको शून्य डोज लगाउन छुटेका ६ जना र आंशिक खोप लगाउन छुटेका १ सय १२ जना बालबालिकाहरुको खोजी गरेर खोप लगाइएको स्वाथ्य कार्यालय डोटीका खोप संयोजक डिल्लीरमण जोशीले बताए ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १४ वटा रोगविरुद्ध १३ किसिमका खोप प्रदान गरिन्छ ।

राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक सिंहले बताए ।

मोहन

Link copied successfully