जेब्राक्रस नहुँदा डडेलधुरा सदरमुकाममा दुर्घटनाको जोखिम

असार १०, २०८२

तर्कराज भट्ट

Risk of accident in Dadeldhura headquarters due to lack of zebra crossing

डडेलधुरा — डडेलधुरा सदरमुकामस्थित बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन र मानिसको आवतजावत हुन्छ । व्यापार, प्रशासन, शिक्षा, यातायात सबै हिसाबले महत्त्वपूर्ण मानिने यी स्थानहरूका पैदल यात्रुका लागि सडकक्षेत्रमा जेब्राक्रस नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।

पैदल यात्रुका लागि सडक पार गर्ने सङ्केत नहुँदा पैदल यात्रु मात्र नभई सवारी चालकलाई समेत अन्योल र जोखिममा पारेको छ । डडेलधुरामा चालू आर्थिक वर्षको हालसम्म ५४ वटा सवारी दुर्घटनामा १४ जनाको मृत्यु र एक सय जना घाइते भएका छन्, जसमा घाइते हुनेहरू अधिकांश पैदल यात्री छन् ।

पछिल्लो समय डडेलधुरा सदरमुकाम क्षेत्रको ट्राफिक चाप बढिरहेको छ । विभिन्न ठाउँबाट आवागमनका लागि पुग्ने सवारी साधनहरूको उपस्थिति पनि बाक्लिँदो छ । तर, यो क्षेत्रमा सडक पार गर्नका लागि सुरक्षित पूर्वाधार बनाउनेतर्फ प्रशासनको चासो भने देखिँदैन । बजार क्षेत्रमा गाडीहरूको भीड, स्कुल जाने बालबालिका, कार्यालय जाने कर्मचारी तथा अन्य सर्वसाधारण मानिसहरूले सुरक्षित रूपमा सडक पार गर्न कुनै सङ्केत राखिएको छैन । छिमेकी पहाडी जिल्ला बैतडी तथा डोटी लगायतका जिल्लामा समेत ट्राफिक सङ्केत र जेब्राक्रस बनाइएको छ, तर सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र डडेलधुरामा यस्ता प्रकारका जानकारी राखिएका छैनन् । स्थानीयहरूले सदरमुकामका मुख्य–मुख्य क्षेत्रमा जेब्राक्रस राख्नुपर्ने माग गरेका छन् ।

स्थानीय यज्ञराज पनेरु भन्छन्, ‘स्कुल पढ्ने नानीहरूलाई बिहान स्कुल पुर्‍याउन जाँदा निकै डर लाग्छ । साँझ ल्याउँदा त झनै भीडभाड हुन्छ । गाडीहरू रोकिँदैनन्, कतिबेला कसैले ठक्कर दिन्छ थाहा हुँदैन ।’ पनेरुका अनुसार सदरमुकाम क्षेत्रमा बालबालिकामात्र होइन, वृद्धवृद्धा र महिलाहरू सडक पार गर्दा ठूलो जोखिममा हुन्छन् । उनले थपे, ‘हामीकहाँ पैदल यात्रुका लागि सुरक्षाको कुनै व्यवस्था छैन ।’

यी समस्या बालबालिका मात्र नभई अन्य नागरिकहरूले पनि भोगिरहेका छन्। डडेलधुरा बसपार्क नजिकैको शाखा सडकमा किराना पसल चलाउँदै आएका स्थानीय बसन्त नाथ भन्छन्, ‘मोटरसाइकलमा दिनमा आठ–दस पटक सामान ल्याउन/पुर्‍याउन बजार पुग्नुपर्छ, बजार क्षेत्रका सडकमा जोखिम छ । मानिस त्यहाँ, गाडी त्यहाँ,’ उनले भने, ‘न कुनै ट्राफिक लाइट छ, न जेब्राक्रस ।’

सरकारले अन्य भौतिक निर्माणमा बढी ध्यान दिएको भए पनि बजारक्षेत्रमा आवतजावत गर्ने मानिसहरूका लागि यहाँका सडकहरूमा आवश्यकतानुसार जेब्राक्रस राख्नुपर्ने उनले माग गरे। सवारी चालकका लागि पनि यो समस्या असहज बनेको छ । १५ वर्षदेखि यही क्षेत्रका सार्वजनिक सवारी साधन चलाउँदै आएका जीप चालक योगेन्द्र मल्ल भन्छन्, ‘कुन ठाउँबाट कुन मान्छे सडकमा आउँछ, थाहा हुँदैन । अचानक मान्छे सडकमा बाटो काट्छ । त्यो बेला ब्रेक लगाउँदा पछाडिबाट अर्को गाडी ठोक्किन्छ कि भनेर डर लाग्छ ।’ मल्लका अनुसार यस्तो अवस्था दिनमा कैयौँ पटक आउँछ । उनी भन्छन्, ‘पैदल यात्रु सुरक्षित हुनु भनेको सवारी चालक पनि सुरक्षित हुनु हो । यदि जेब्राक्रस हुने हो भने मानिसहरू निश्चित स्थानबाट मात्र सडक पार गर्थे, हामी पनि सावधानी अपनाउने थियौँ ।’

जिल्ला सदरमुकाम क्षेत्रमा मात्र आधा दर्जनभन्दा बढी स्कुलहरू तथा दर्जन बढी कार्यालय रहेका छन् । ती स्कुलमा दैनिक हजारौँ बालबालिका ओहोरदोहोर गर्छन् । डडेलधुराको यातायात सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित जिम्मेवार निकायहरू पनि समस्याको गम्भीरतालाई स्वीकार गर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका प्रमुख, प्रहरी नायब निरीक्षक हर्कबहादुर साउद भन्छन्, ‘हामीले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँ । भर्खरै बजार क्षेत्रमा ट्राफिक सचेतना बोर्डहरू पनि राखिएका छन्।’ उनले भने, ‘यस विषयमा पनि जिल्ला प्रहरी कार्यालय र अन्य सरोकारवाला निकायहरूबीच छलफल भइरहेको छ ।’

साना-ठूला सवारी साधनहरू मनलाग्दी पार्किङ गर्दा बजार क्षेत्र झन अव्यवस्थित देखिएको छ । विशेषगरी बालबालिका, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धा सडक प्रयोगकर्तामध्ये सबैभन्दा जोखिमयुक्त वर्ग हुन् । डडेलधुरा जस्तो मुख्य बजार क्षेत्र भएको स्थानमा अझै पनि सडक पार गर्ने सुरक्षित व्यवस्था नहुनु दुःखद भएको स्थानीयले बताउने गरेका छन् ।

तर्कराज भट्ट

Link copied successfully