असारमा हुने यस्ता भ्रमणहरू उपयोगी हुनेभन्दा पनि सरकारी बजेट सिध्याउने मेलो
धनगढी — वर्षभर केही नगर्ने अन्तिम समयमा बजेट सक्नकै लागि हतारमा गरिने विकास ‘असारे विकास’ का नामले बदनाम छ । यसकै झल्को आउने गरी सुदूरपश्चिम प्रदेशसभाका सांसद ‘असारे घुमफिर’मा निस्केका छन् ।
उनीहरू अध्ययन भ्रमण शीर्षकमा बजेट नै विनियोजन गरेर घुमघाममा निस्किएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार हरेक समितिलाई अध्ययन भ्रमण शीर्षकमा वार्षिक सात लाखसम्म विनियोजन हुँदै आएको छ ।
सांसद धर्मराज पाठक नेतृत्वको सामाजिक विकास समितिका सदस्यहरू काठमाडौं भ्रमणमा छन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीसहितका सदस्यहरू कर्णालीको रारा पुगेका छन् । विधायन तथा प्रदेश मामिला समितिका पदाधिकारीहरू हालै कैलालीको चिसापानी र टीकापुरमा घुमघाम गरेर फर्केका छन् ।
सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलसहित केही सदस्य गत साता यस्तै भ्रमणका नाममा भारतको नैनीताल पुगेको विषय विवादमा परेको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा पाँच वटा विषयगत समिति छन् । यसै वर्ष गठन भएको विशेष समितिबाहेक अन्य समितिका पदाधिकारी विगतदेखि नै अध्ययन भ्रमणका नाममा असारमा सरकारी खर्चमा विभिन्न ठाउँ रोजेर घुमघाममा जाने गरेका थिए ।
सामाजिक विकास समिति सभापति पाठकले प्रतिनिधिसभाका तीन वटा विषयगत समितिका पदाधिकारी, सभामुख, राष्ट्रिय सभाका अध्यक्षसँग भेटघाट तथा सिकाइ आदानप्रदान गरिएको छ । ‘राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटघाटको समय मिलाएका छौं,’ उनले भने । उनीसहित सदस्यहरू ओमविक्रम भाट, कैलाश चौधरी, खुसीराम डगौरा थारू, जानकीदेवी कुँवर, झपटबहादुर साउद, तुलसी देवकोटा, माया पन्त र शिवराज भट्ट तथा प्रदेशसभाका चार जना कर्मचारी भ्रमणमा सहभागी छन् । सभापति पाठकले यसअघि बजेट निर्माणलगायत काम परेको र यतिबेला फुर्सदको समयजस्तो भएकाले अध्ययन अवलोकनमा निस्किएको बताए । ‘म सभापति भएको दुई महिना भयो, विगतमा र अहिले कुन समितिले के–के गरिरहेका छन् र कता घुमघाम गरिरहेका छन् भन्ने मलाई वास्ता हुने कुरा भएन । हाम्रो समितिका लागि यतिबेला नै उपयुक्त समय भएकाले राम्रो परिणामका लागि भ्रमणमा छौं ।’
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरी र सदस्यहरू खगराज भट्ट, राजेन्द्रसिंह रावल, चक्रबहादुर मल्ल, ताराप्रसाद जोशी, नरेशकुमार शाही, ललिता सुनार र शिवसिंह ओली कर्णालीको भ्रमणमा छन् । असार ५ मा यो समूह कर्णाली प्रदेशका संसदीय क्रियाकलाप अध्ययन भ्रमणमा निस्किएको हो ।
समिति सदस्य ओलीले कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया र कालीकोट हुँदै रारा अवलोकनमा पुगेको बताए । ‘सोमबार दैलेखको इन्धन उत्खनन भइरहेको ठाउँको अवलोकन गरेर फर्किने योजना छ,’ उनले भने, ‘असारमा हुने यस्ता भ्रमणहरू उपयोगी हुनेभन्दा पनि सरकारी बजेटमा कर्मकाण्डी, मुड फ्रेस गर्ने, भ्रमणका लागि भ्रमण हुने गरेको कुरा स्विकार्नॅपर्छ ।’
सभामुख भीमबहादुर भण्डारी असारमै भ्रमण गर्ने प्रवृत्तिले गलत सन्देश दिएको स्विकार्छन् । ‘विभिन्न प्रदेशका असल सिकाइ अनुसरण गर्न सांसदहरूले अध्ययन भ्रमण गर्ने, अरू ठाउँका राम्रा अभ्यास आफ्ना प्रदेशमा पनि अवलम्बन गर्ने कुरा गलत होइन,’ उनले भने, ‘भ्रमणहरू केवल कर्मकाण्डी मात्र हुनुभएन । समितिहरूले आगामी वर्षका भ्रमणको समयतालिका सच्याएर गए राम्रो हुन्छ ।’
यस्तै, सार्वजनिक लेखा समितिका सभापति रावलसहित केही पदाधिकारी लुम्बिनी भ्रमण गर्ने भनेर भारतको नैनीताल पुगेको बारे विवादमा परेको छ । विवाद भएपछि उनीहरूले नैनीताल भ्रमणलाई सरकारी नभई व्यक्तिगत खर्च भ्रमण भएको जनाएको प्रदेशसभा सचिवालय स्रोतले बतायो । प्रदेशसभा सचिवालयका अनुसार भ्रमण खर्चका लागि सांसदहरूले यातायातबाहेक दैनिक दुई हजार पाँच सय भत्ता पाउने नियम छ । ‘भ्रमण टोलीमा रहने प्रदेशसभाका कर्मचारीले सांसदले पाउने सोही दैनिक भत्ता रकमबाट उनीहरूको खाना र बास खर्च घटाउने गर्छन्,’ सचिवालयका एक कर्मचारीले भने ।
