कैलाली — कैलालीको धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या गरिएको खुलेको छ। कञ्चनपुर पुनर्वास नगरपालिका–११, अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार उनी केही समयदेखि धनगढी उपमहानगरपालिका क्षेत्रको एक कोठामा भाडामा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी राजकुमार सिंहले दिएको जानकारी अनुसार मृतक चौधरीको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने कन्चटमा पनि चोटपटक रहेको छ।
‘यो हत्या भएको घटनाजस्तो देखिन्छ,’ डिएसपी सिंहले भने, ‘अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।’
मृतक चौधरी नेपाल सरकारअन्तर्गत खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार उनी पछिल्ला दुई महिनादेखि एक युवकसँगै सो कोठामा बस्दै आएकी थिइन्। तर उक्त युवकको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
