धनगढी — कैलालीमा एकजना सुत्केरीको आफ्नै देवरले हत्या गरेको खुलेको छ ।
गौरीगंगा नगरपालिका-७ कैलाशपुरकी १६ वर्षीया तुलसी नाथको बिहीबार राति देवर नवीन नाथले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तुलसी १६ दिने सुत्केरी थिइन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार सामान्य मनमुटावले हत्या तहको घटनामा पुगेको खुल्न आएको हो । तुलसीका श्रीमान् भारतको पुनामा मजदुरी गर्छन् । २० वर्षीय नवीन-दम्पत्ती घरमै बस्छन् । सगोलको परिवारमा रहेका उनीहरुबीच आर्थिक अभावले पारिवारिक कलह बढिरहेको थियो ।
प्रहरीका अनुसार घटना भएको दिन बिहानसम्म अवस्था सामान्य थियो । त्यस बिहान बच्चालाई खोप लगाउन तुलसी स्वास्थ्य चौकी गएकी थिइन् । फर्किंदा सबैले खाना खाइसकेका र तुलसीका लागि खाना राखेका थिएनन् । ‘उनले चाउचाउ खाएर चित्त बुझाएकी थिइन्,’ डीएसपी चन्दले भने, ‘त्यस क्रममा उनले कमाउने मेरै श्रीमान्, तर मलाई सुत्केरी अवस्थामा पनि खाना नराखिदिने भनेकी रहिछिन् । त्यसले नवीनलाई असह्य भएको रहेछ ।’ यही बिन्दुबाट तुलसीको हत्यासम्म पुगेको उनले बताए ।
आर्थिक अभाव झेलिरहेका नवीनलाई दिउँसो भाउजूले ‘कमाउनु केही छैन’ भनेको कुराले उनी रिसाएका थिए । ‘साँझ खाना नवीनले नै बनाए । राति १२ बजेतिर भाउजूको कोठामा गएर मुख च्यापेर हत्या गरे,’ डीएसपी चन्दले भने ।
भाउजूको हत्या गरिसकेपछि नवीनले शव घर अगाडिको नालीमा फालेका थिए । घरपरिवार र छरछिमेकले बिहान थाहा पाएका थिए । त्यसपछि हल्लाखल्ला चल्यो । शरीरमा लिलडाम केही थिएन । तर कानका सुन थिएनन् । घाँटीको पोते शवको छेवैमा फालिएको थियो ।
‘प्रहरीले केरकार सुरु गर्दै जाँदा नवीनले हत्या गरेको स्वीकार गरेका हुन्,’ डीएसपी चन्दले भने ‘शिशुलाई संरक्षणमा राखिएको छ ।’
