कैलालीका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ

चैते धानको उचित मूल्य नपाएर किसान मार्कामा

असार ८, २०८२

चित्रांग थापा

The farmers of Kailali were invited to import chaite paddy

धनगढी — वर्षायाम सुरु हुन थालेपछि चैते धानको खेती हुने कैलालीका दक्षिणपूर्वी भेगका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याइ छ ।

फागुन अन्तिमतिर समयमै चैते धान खेती गर्ने किसानले धान भित्र्याइसकेका छन्, गहुँबाली भित्र्याएर ढिलो गरी खेती गर्नेहरुको फसल बल्ल भित्र्याउने बेला हुन थालेको छ ।

कैलालीको दक्षिणपूर्वी भेगमा चैते धान खेती हुने गरेको छ । वर्षायाममा बाढीले डुबान हुने उक्त क्षेत्रका ५० प्रतिशत बढी किसान वर्षे धानबाली खेती नै नगर्ने, खेती गर्नेहरुले पनि भित्र्याउन नै पाउँदैनन् । कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक अनुसार कैलालीको भजनी नगरपालिकाको ३, ५, ६, ७ र ८ नं. वडा क्षेत्र बर्सेनि बाढीबाट डुबानमा पर्ने भएकाले त्यहाँका किसान चैते धान खेती गर्दै आएका छन् । भजनी नगरपालिका क्षेत्रसँगै जिल्लाका जोशीपुर, घोडाघोडी, कैलारी र बर्दगोरीया लगायत क्षेत्रका किसान पनि हालका वर्षमा चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।

'गत वर्ष कैलालीमा साढे ११ सय हेक्टरमा चैते धान खेती गरिएको थियो,’ कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, 'यो वर्ष बढेर साढे १३ सय हेक्टरमा चैते धान खेती गरिएको छ ।’ उनका अनुसार धानको उत्पादकत्व पनि राम्रो छ । 'गत वर्ष प्रतिहेक्टर ५ दशमलव २ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष गत वर्षकै हारामारीमा थप केही बढ्ने आकलन गरिएको छ,’ चौधरीले बताए ।

हालका वर्षमा सिँचाइ सुविधाका लागि नहर नपुगेको क्षेत्रमा समेत विद्युत् प्रसारणलाइन बिस्तार हुँदै गएपछि बिजुलीका मोटरबाट बोरिङको पानी तानेर चैते धान खेतीका लागि सिँचाइ सुविधा बढेको छ । सहायक कृषि अधिकृत चौधरीका अनुसार कृषि ज्ञान केन्द्रलेसमेत चैते धान खेतीतर्फ किसानहरुलाई आकर्षित गराउन प्रतिकट्ठा बोरिङबाट सिँचाइ गर्न २ हजारसम्म अनुदान दिन थालेपछि पेज किसानहरु पनि लाभान्वित हुन थालेका छन् ।

The farmers of Kailali were invited to import chaite paddy

'यस वर्ष सिँचाइ सुविधाका लागि विद्युत् मोटर जडान गर्न ७० जना किसानले अनुदान पाउने छन् । उनीहरुले मोटर जडान गर्न आफूले खरिद गरी ल्याएका उपकरणको बिल पेस गरेपछि कृषि ज्ञान केन्द्रबाट रकम भुक्तानी पाउने व्यवस्था मिलाइएको छ,’ सहायक कृषि प्रसार अधिकृत चौधरीले भने । सिँचाइ सुविधा बिस्तार भएसँगै उत्पादन बढ्नुका साथै चैते धान खेती गर्ने किसानहको संख्या पनि बढेको छ र उत्पादन पनि बर्सेनि बढ्दै गएको चौधरी बताउँछन् ।

हुलाकी सडक संरचना बाढी र डुबानको असर

कैलालीको चुरे क्षेत्रबाट उत्पत्ति भएका खोला खहरे र नदीहरुमा वर्षायाममा आउने बाढीका कारण खेतियोग्य अधिकांश जमिन डुबानमा पर्ने भएकोले कैलालीको दक्षिणपूर्वी भेगका नदी आसपासका बस्तीका अधिकांश बासिन्दा बर्सेनि वर्षे धन बालीबाट बञ्चित हुँदै आएका छन् । उनीहरुलाई वर्षभरि भात खान चैते धानकै भरमा पर्नु परेको हो । वर्षायाममा हुलाकी सडक आसपासका ७५ प्रतिशत क्षेत्र डुबानमा पर्ने भएकाले चैते धान खेतीकै भरमा रहनु परेको स्थानीय किसान बताउँछन् ।

हुलाकी सडक निर्माण गर्दा पुल र कल्भर्ट सानो, होचो तथा साँघुरो बनाइएकोले वर्षायामको बाढी निकास नभएर आसपासको गाउँमा पसेर जलमग्न हुने गरेको हो । सहायक कृषि अधिकृत चौधरी भन्छन् 'डुबान क्षेत्रका अधिकांश बासिन्दाले भात खाने नै चैते धानको हो । ' ढिलो तयार हुने चैते धान काटेर सुकाउने र थ्रेसिङ गरेर भित्र्याउनु पूर्व राजमार्गमा त्रिपाल ओछ्याएर किसानहरु धान सुकाउने गरेका छन् । वर्षायाम भइसकेको र अझै २० /३० प्रतिशत धान काट्न नै बाँकी रहेको अवस्थामा वर्षाले धान भिजेर र ढलेर क्षति हुने गरेको चौधरीले बताए ।

चैते धानको बिक्री मूल्यमा मनोमानी

गत वर्ष कैलालीका किसानले ३५ सय प्रति क्विन्टलसम्म मूल्यमा धान बिक्री गरेका थिए । विगतका वर्षको तलनामा गत वर्ष उचित मूल्य पाएकोमा किसान खुसी भएका थिए । तर यो वर्ष २५/२६ सय प्रति क्विन्टलमा बिक्री गर्न बाध्य भएको किसान बताउँछन् ।

'यो वर्ष मूल्य नै पाएनौँ,’ कैलालीको भजनी नगरपालिका–१ गहुनियाका फूलाराम चौधरीले भने, 'यो वर्ष कैलालीका किसानले चैते धानको उचित मूल्य नपाएर मर्कामा परेका छन् ।’ उनका अनुसार स्थानीय गल्लावाला र मिलका व्यापारी चैते धान खरिद गर्न नै चासो देखाइरहेका छैनन् । 'सरकार चैते धान खेती  बिस्तार गर्नु पर्ने नीति त ल्याउँछ तर किसानले बडो मुस्किलले मल बिउको जोहो गरेर उत्पादन गरेको धानले मूल्य पाउँदैन,’ चौधरीले भने । भारतबाट स्थानीय मूल्यभन्दा सस्तोमा चामल भित्रिरहेका कारण चैते धानको मूल्य गतवर्ष भन्दा धेरै घटेको किसानहरुको भनाइ छ ।

सहायक कृषि प्रसार अधिकृत रामनारायण चौधरी भने अझै छिटो फल्ने अर्थात् मनसुन पूर्व नै भित्र्याउन सकिने जातको धानको बिउ उपलब्ध हुनुपर्ने बताउँछन् । हाल हर्दिनाथ १२० दिनमा फल्ने र चैते ५–३–३  बढीमा १२५ दिनमा फसल तयार हुने धानसँगै अलि छिटो तयार हुने चैते धान खेती हुन थालेमा किसानहरु मनसुन अगावै धान भित्र्याउन सक्ने उनले बताए ।

चित्रांग थापा थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully