डडेल्धुरामा १३ हजारभन्दा बढी घरधुरी मनसुनको जोखिममा

अमरगढी नगरपालिकाले पूर्वतयारीका लागि आँकडा नै नपठाउँदा कार्ययोजनामा अन्योल

असार ६, २०८२

तर्कराज भट्ट

More than 13 thousand households in Dadeldhura are at risk of monsoon

डडेल्धुरा — यो वर्षको मनसुनसँगै सुदूरपश्चिम प्रदेशभर प्राकृतिक विपद्को जोखिम देखिएको छ । सरकारी पूर्वानुमानअनुसार यसपालिको वर्षामा सुदूरपश्चिमभर ५२ हजारभन्दा बढी घरपरिवारका करिब २ लाख २८ हजार नागरिक प्रभावित हुने देखिएको छ ।

पहाडी जिल्ला डडेल्धुरामा १३ हजार ५ सय घरपरिवारका २९ हजार ५९३ नागरिक जोखिममा पर्ने देखिएको छ । यद्यपि, स्थानीय तहको पूर्वतयारी नै प्रभावकारी व्यवस्थापनको आधार बन्ने भए पनि डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले भने अझैसम्म अनुमानित प्रभावितको विवरणसमेत तयार गर्न नसकेको देखिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले दिएको जानकारी अनुसार जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जोखिममा रहेको आलिताल गाउँपालिकामा मात्र ७ हजार ८५३ घरपरिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ । त्यसपछि परशुराम नगरपालिकामा ३ हजार ९५१, भागेश्वर गाउापालिकामा ५१०, नवदुर्गा गाउँपालिकामा ३११, अजयमेरु गाउँपालिकामा २०७ र गन्यापधुरा गाउँपालिकामा १६७ घरपरिवार जोखिमको सूचीमा छन् ।

जिल्लाको प्रशासनिक केन्द्रसमेत रहेको अमरगढी नगरपालिकाले भने प्रभावित हुने अनुमानित जनसंख्याको विवरण हालसम्म पनि जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाएको छैन । नगरपालिकामा विपद् जोखिम मूल्यांकनका लागि आवश्यक प्राविधिक जनशक्तिको अभाव भएकाले उक्त कार्य हुन नसकेको नगरपालिकाका इन्जिनियर कविन्द्रराज भट्टले बताए ।

जिल्लाका स्थानीय तहहरूमध्ये अमरगढी नगरपालिकाले पूर्वतयारीका लागि आवश्यक आँकडा नै नपठाउँदा समग्र जिल्लाको कार्ययोजनामा अन्योल सिर्जना भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वतयारीको खाका तयार पारेको बताएको छ । त्यसअनुसार, जोखिमयुक्त बस्तीहरूबाट सहज रूपमा पुग्न सकिने खुला स्थानलाई अस्थायी शिविरका रूपमा पहिचान गरिएको छ । राहत सामग्रीको मौज्दात, सञ्चार समन्वय, आपतकालीन खाद्य जोहो र प्राथमिक उपचार सामग्रीको व्यवस्थापनसमेत गरेको जनाएको छ ।

जिल्लाभर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने जिम्मा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनामा दिइएको छ । यी निकाय विपद् आइपरेपछि प्राथमिक रूपमा खोज तथा उद्धारमा खटिनेछन् । त्यसका लागि जिल्लास्तरमै स्थानीय तहहरूसँग समन्वय गरेर खोज तथा उद्धार प्रतिकार्य टिमहरू गठन गरिएका छन् । ती टिमलाई सशस्त्र प्रहरीको विशेष टोलीले आधारभूत उद्धार तालिम दिइरहेको छ । तालिमपश्चात् उक्त टिम विपद् आइपरेको बेलामा स्थानीय तहले प्रत्यक्ष रूपमा खोज, उद्धार तथा राहत वितरणमा संलग्न हुनेछन् ।

डडेल्धुरा पहाडी जिल्ला भएकाले हरेक वर्षको मनसुनमा भू–स्खलन, नदी कटान, र बाटो अवरुद्धजस्ता समस्या देखिँदै आएका छन् । सडक सञ्जाल कमजोर हुँदा विपद्को समयमा एक गाउँबाट अर्को गाउँ पुग्न समेत समस्या हुने गरेको छ । पहिरोले सडक सञ्जाल बन्द हुँदा महिनौंसम्म स्वास्थ्य सेवा, खाद्य आपूर्ति, सवारी आवागमन सबै प्रभावित हुने गरेका छन् ।

प्रदेशस्तरीय विवरणअनुसार कञ्चनपुर, कैलाली, बैतडी, डडेल्धुरा, बाजुरा, डोटी, दार्चुला, बझाङ र अछाम गरी नौवटै जिल्लामा जोखिम देखिएको छ । सबैभन्दा बढी कञ्चनपुरमा ३६ हजार ८९६, कैलालीमा ३२ हजार ३८०, बैतडीमा ३२ हजार १२४ बाजुरामा ३० हजार ७६६ र डडेल्धुरा २९ हजार ५९३ नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै, डोटीमा २० हजार ८६९, बझाङमा १६ हजार ९३, अछाममा १५ हजार २१३ र दार्चुलामा १३ हजार ७९६ नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

जिल्लास्तरीय तयारी योजनामा उद्धार टिम, खाद्यान्न मौज्दात, राहत सामग्रीको उपलब्धता, सूचनाको प्रवाह प्रणाली र आपतकालीन सम्पर्क टेलिफोनहरू तयारी अवस्थामा राखिएको जनाइएको छ । तर, कतिपय स्थानीय तहहरूले आधारभूत आाकडा नै दिन नसकेको सन्दर्भमा विपद्पछिको अवस्था कति व्यवस्थित होला भन्नेमा प्रश्न उठेको छ ।

यस वर्षको मनसुनले डडेल्धुरा र सुदूरपश्चिमभर नै फेरि पनि ठूलो संख्यामा नागरिकलाई जोखिममा पार्ने संकेत देखिएको छ । स्थानीय तहहरूले जोखिम मूल्यांकनमा चासो देखाए पनि, स्रोत, दक्ष जनशक्ति र समन्वयको अभावले कार्यान्वयनमै गम्भीर चुनौती देखिने विज्ञ बताउँछन् ।

तर्कराज भट्ट

Link copied successfully