मुख्यमन्त्रीले राजीनामा मागेपछि सुदूरपश्चिमका उद्योगमन्त्री चौधरीको पद संकटमा

असार ५, २०८२

अर्जुन शाह

After the chief minister asked for his resignation, the position of Industry Minister of Far West is in crisis

धनगढी — सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको पद संकटमा परेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई मंगलबार राति फोन गरेर पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । जेठ ४ गते नियुक्त भएका मन्त्री चौधरीले बिहीबार बिहानसम्म राजीनामा दिएका छैनन् । 

रामेश्वरअघिका उद्योगमन्त्रीमा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी थिए । आर्थिक चलखेलमा संलग्न रहेको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शाहले हालका मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन दिएको पुष्टि गरेका छन् ।

यता मन्त्री चौधरीलाई राजीनामा गर्न लगाउने या के गर्ने भन्नेमा बिहीबार दिउँसो बस्न लागेको बैठकबाट टुंगो लगाउने नागरिक उन्मुक्तीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा मन्त्री चौधरीले कार्यकारी निर्देशक नियुक्त गरेको कुरा मुख्यमन्त्री शाहले १५ दिनपछि सामाजिक सञ्जालबाट मात्र थाहा पाएको स्रोतको भनाइ छ । त्यसपछि मुख्यमन्त्री शाह मन्त्री चौधरीप्रति अत्यधिक रुष्ट छन् ।

मन्त्री चौधरीले जेठ १९ गते नै खप्तडमा डोटीका खेमराज जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए । मुख्यमन्त्रीको सचिवालयका एक पदाधिकारीका अनुसार उपसचिव तहको कर्मचारी नियुक्त गर्दा पनि मुख्यमन्त्रीलाई भने त्यसबारे मन्त्री चौधरी, मन्त्रालयका सचिव वा निर्देशक नियुक्त जोशी कसैले जानकारीसम्म दिएका थिएनन् ।  

सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकार छ । यतिबेला सरकारले नियुक्त गर्नुपर्ने विभिन्न निकायमा पदाधिकारीको पद रिक्त छ । भागबण्डा नमिलेर पेचिला बनेका ती नियुक्ति समझदारीमै टुंग्याउने मनस्थितिमा मुख्यमन्त्री शाह थिए । 

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीको नियुक्ति मन्त्रिपरिषद्को निर्णयमा हुने व्यवस्था छ । समितिमा कार्यकारी निर्देशक सदस्य सचिवको भूमिकामा रहने गठन आदेशको व्यवस्था छ । कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्रीस्तरीय निर्णयबाट हुन्छ । 

तर मन्त्री चौधरीले महत्वपूर्ण निकायमा उपसचिव तहको कार्यकारी निर्देशक नियुक्त गर्दासमेत आफूलाई जानकारी नदिएपछि मुख्यमन्त्री नैतिक संकटमा परेका थिए । अर्कोतिर बजेट निर्माणका क्रममा चौधरी नेतृत्वको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित योजनामा चलखेल भएको भन्दै मुख्यमन्त्री शाह रुष्ट थिए । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर र संरक्षक रेशम चौधरी पक्षधरको शक्ति संघर्षका बीचबाट रामेश्वर चौधरी जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully