सुदूरपश्चिम सरकारले हरेक क्षेत्रमा नमुना विद्यालय बनाउने, कृषिमा पनि महत्वाकांक्षी योजना

असार ३, २०८२

अर्जुन शाह

Sudurpaschim government will make model schools in every sector, ambitious plan in agriculture as well

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा शैक्षिक क्षेत्रको विकासका लागि एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय, कृषि क्षेत्रको विकासका लागि एक स्थानीय तह दुई उत्पादन, महिला, बालबालिका र ज्येष्ठ नागरिक दशकलगायत केही रचनात्मक कार्यक्रम पनि समावेश छन् ।

विगत वर्षदेखि प्रदेश सरकारले एमबीबीएस छात्रवृत्ति कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

सुदूरपश्चिममा पनि पछिल्ला शैक्षिक सत्रमा स्थानीय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकाले विद्यालय मर्ज हुने क्रम बढिरहेको छ । त्यसैले आगामी वर्षको बजेटमा प्रदेश सरकारले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना विद्यालय’ योजना अघि बढाएको हो । क्रमागत रुपमा सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत सरकारले आगामी वर्षको बजेटमा एउटा विद्यालयका लागि ७५ लाखका दरले २४ करोड विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रममा विनियोजित रकममध्ये २० लाख रुपैयाँ उपकरण, शिक्षकहरुको दक्षता अभिवृद्धिलगातय कार्य गर्न खर्च हुने र ५० लाख रुपैयाँ भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाइएको छ । चालु आर्थिक वर्षमा नमुना विद्यालय छनोट गरी गुरुयोजना तयार गर्न लागिएको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए ।

यस्तै प्रदेश सरकारले ०८२–०९२ लाई महिला, बालबालिका र ज्येष्ठ नागरिक दशक घोषणा गरेर लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाएको छ । कृषि, पशुपन्छी तथा मत्स्य विकासतर्फ आगामी वर्ष ‘एक स्थानीय तह दुई उत्पादन’को कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा उक्त कार्यक्रम कार्यान्वयन गर्न एउटा कृषि उत्पादन र एउटा पशु उत्पादनको क्षेत्र निर्धारण गरी एक सय ७६ वटा पकेट निर्माण गर्ने भनिएको छ । हरेक पकेटमा एक एक जना कृषि तथा पशु प्राविधिकसमेत परिचालन गर्ने योजना बजेटमार्फत घोषणा गरिएको छ । प्रदेश सरकारले ल्याएको उक्त महत्वकांक्षी कार्यक्रम कार्यान्वयन गर्नका लागि ७० करोड ४० लाख विनियोजन गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । जसअन्तर्गत पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात् ५९.२५ प्रतिशत विनियोजन गरिएको छ भने चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३०.४९ प्रतिशत विनियोजित छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully