डडेल्धुरामा ७१ करोडको आलु उत्पादन

असार २, २०८२

तर्कराज भट्ट

71 crore potato production in Dadeldhura

काठमाडौँ — डडेल्धुरामा यो वर्ष ७१ करोड बराबरको आलु उत्पादन भएको छ । डडेल्धुरामा वर्षे र हिउँदे गरी दुई सिजनमा आलुखेती हुने गरेको छ ।

डडेल्धुरामा आयोजित ‘पकेट विकास कार्यक्रमको रिपोर्टिङ तथा प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले उक्त तथ्य सार्वजनिक गरेका हुन् । 

उनका अनुसार ११२२ हेक्टर क्षेत्रफलमा आलु सुपरजोन र ६५० हेक्टरमा भटमास जोन कार्यक्रम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा भएका प्रगति सार्वजनिक गर्दै उनले किसानहरुका लागि १५१ वटा मिनी टिलर, आलु र भटमासका बीउ, मल्चिङ, सिँचाइ र यन्त्रीकरणमा सहयोग भएको बताए ।

आलु सुपर जोन जिल्लाका सातवटै पालिकामा लागू भएको छ भने भटमास जोन अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकामा लागू भएको छ । कार्यक्रममा बाख्रा पालक किसान, केरा खेती, हिउँदे आलु क्षेत्र विस्तार, हिउँदे बिउ आलु उत्पादन, बर्खे आलु क्षेत्र विस्तार, बर्खे आलु उत्पादनका कार्यक्रममा सहयोग गरेको जानकारी गराइएको छ ।

मिनी टिलर, आलु खेती गर्ने किसानलाई अनुदान वितरण, बिउ आलु उत्पादन गर्ने किसानलाई पीबीएस दाना अनुदान, वितरण गरेको, कृषि यन्त्रीकरण सहयोग कार्यक्रम, २६ सय केजी स्थानीय भटमासको बिउ क्लस्टरमा २२७ जना किसानलाई निःशुल्क वितरण गरेको जनाइएको छ ।

आलु बालीमा तीनवटा समूहका कृषकलाई कृषक पाठशाला कार्यक्रम गरी आलु खेती प्रविधिमा दक्ष बनाइएको, कोल्ड स्टोर मर्मत सम्भार कार्यक्रम शीत भण्डारणमा बिउ राख्ने कृषकलाई प्रति केजी २ रुपैयाँका दरले अनुदान सहयोग गरेको कार्यालयका प्रमुख बस्नेतले बताए ।

कृषि ज्ञान केन्द्रले आलु प्रवर्धन, सुन्तला, फलफूलको बजारीकरण, मौरी कार्यक्रम, हिउँदे फलफूल बगैंचा स्थापना, विपन्न किसानलाई बिउ तथा सामग्री वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। केन्द्रका प्रमुख नरेन्द्र पनेरुले मासिक बजेट ढिलासुस्ती र कर्मचारी सरुवा/दरबन्दी रिक्तताले कार्यान्वयन प्रभावित भएको बताए ।

अजयमेरु गाउँपालिकाका कृषि शाखाका अनुसार गहुँको बिउ मौरीघार वितरण प्याज खेती उत्पादनमा प्रोत्साहन लगायतका कार्यक्रम गरिएको छ ।पशु शाखाका अनुसार पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा आकस्मिक उपचार सेवा सञ्चालन गर्ने गरिएको छ ।

भागेश्वर गाउँपालिकाको कृषि शाखाका अनुसार आलुको बिउ वितरण फलफूल बगैंचा स्थापना तरकारी खेती प्रवर्धन कार्यक्रम कृषकलाई अनुदान लगायतका कार्यक्रम गर्ने गरिएको छ । 

तर्कराज

Link copied successfully