हाते ट्र्याक्टरमा किसानको आकर्षण

नयाँ प्रविधिले एकातिर किसानलाई खाद्यान्न उत्पादनमा सहज भएको छ भने अर्कोतिर उत्पादन लागतसमेत कम भएको छ

असार १, २०८२

मोहन पनेरु

Farmer's fascination with hand tractors

डोटी — डोटीमा आधुनिक कृषि यन्त्रप्रति किसानको आकर्षण बढ्दै गएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ चुट्न लगायतका काममा आधुनिक कृषि यन्त्र हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका छन् । 

काम पनि चाँडो हुने तथा श्रम कम खर्च हुने भएकाले किसानहरू उक्त यन्त्रप्रति बढी आकर्षित भएका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्र्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रप्रति दिन प्रतिदिन आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगा दत्त अवस्थीले बताए । 

गाउँघरमा गोरु पाल्नेहरूको संख्या कम हुन थालेको छ । त्यसैले पनि खेतबारी जोत्न हाते ट्र्याक्टरप्रति किसानको आकर्षण र माग बढेको प्रमुख अवस्थीको भनाइ छ । 

ट्र्याक्टरको सहायताले खेतबारी खन्न सजिलो भएपछि डोटीका किसान खुसी भएका छन् । ट्र्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकै नै सजिलो भएको दिपायल सिलगढी नगरपालिका-५ का किसान जगत विष्ट बताउँछन् । 'भनेको समयमा गोरु नपाउने र कामदारको पनि अभाव किसानले सधैं झेल्नुपरेको छ । भएका खेतबारी पनि बाँझो राख्नुपर्ने बाध्यता थियो । खेत जोत्न ट्र्याक्टरको प्रयोग गर्न थालेपछि गोरु र खेतालाको समस्या हटेको छ,' उनले भने, 'कम जनशक्तिले थोरै समयमा काम सकिने भएपछि बाँझो रहेका खेतमा पनि उत्पादन सुरु भएको छ ।'

Farmer's fascination with hand tractors

ट्याक्टरले जोत्दा खेतको माटो खुकुलो हुने किसानहरूको अनुभव छ ।ट्र्याक्टर पाएपछि खेतीपाती गर्ने समयमा गोरु नपाउने समस्या हटेको दिपायलका किसान मुकुन्द नेगीले सुनाए । ‘अधिकांश पुरुष विदेशिने क्रम बढेपछि गाउँमा न काम गर्ने खेताला पाइन्छन, न त जोत्नकै लागि गोरु । गोरुको विकल्पमा खेतबारी जोत्न हाते ट्र्याक्टर सजिलो माध्यम भएको छ,' नेगीले भने, ‘असार, मंसिर, चैते धान रोप्ने, मकै रोप्ने र तरकारी लगाउने समयमा गोरुका लागि पालो कुर्नुपथ्यो । अहिले ट्र्याक्टरले समयमै खेती गर्न सहज भएको छ।’ 

कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका लागि गोरु पाल्ने किसानको संख्या घट्दै गएको छ । संघसंस्था तथा सरकारले पनि किसानलक्षित गरी यस्ता यन्त्र प्रदान गरिरहेका छन् ।

Farmer's fascination with hand tractors

परम्परागत खेती प्रणालीलाई हटाउँदै किसानलाई व्यावसायिक बनाउने र कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन कृषि उपकरण वितरण गरिँदै आएको प्रमुख अवस्थीले बताए । ‘कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरी कृषि पेसालाई सरल र सहज बनाउनका लागि कृषि उपकरण वितरण गरिरहेका छौं,' अवस्थीले भने ।

यसले एकातिर किसानहरूलाई खाद्यान्न उत्पादनमा सहज भएको छ, अर्कोतिर उत्पादन लागतसमेत कम हुँदै गएको किसानहरू बताउँछन् । 

मोहन पनेरु

Link copied successfully