धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रदेशगत तुलनामा आर्थिक वृद्धिदर सबैभन्दा कम हुने अनुमान गरेको छ । सुदूरपश्चिमको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा ३.२८ रहेकोमा चालु आर्थिक वर्षमा ३.३२ प्रतिशत रहने अनुमान गरिए पनि प्रदेशगत रूपमा भने उक्त आर्थिक वृद्धिदर सबैभन्दा पुछारमा रहने अनुमान छ ।
गत वर्ष सबैभन्दा पुछारमा रहेको कर्णालीको आर्थिक वृद्धिदर भने चालु आर्थिक वर्षमा ४.७४ प्रतिशत पुग्ने अनुमान छ । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा हुने अनुमान छ । चालु आर्थिक वर्षमा गण्डकीको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत पुग्ने छ । नेपालको आर्थिक वृद्धिदर भने ४.६१ हुने अनुमान रहेको आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले उल्लेख गरेका छन् ।
सुदूरपश्चिमको कूल ग्राहस्थ उत्पादन गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ०८१/८२ मा २२ अर्ब ८७ करोड वृद्धि हुने अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । गत वर्ष चार खर्ब ६ अर्ब ७५ करोड रहेकोमा चालु आर्थिक वर्षको कूल ग्राहस्थ उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान छ । जुन राष्ट्रिय उत्पादनमा ७.०३ प्रतिशत योगदानको हिस्सा सुदूरपश्चिमको हुनेछ ।
सुदूरपश्चिममा गत आर्थिक वर्षमा प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन एक हजार १२२ रहेकोमा चालु आर्थिक वर्षमा २.७६ प्रतिशतले वृद्धि भई एक हजार १५३ पुग्ने अनुमान छ । नेपालको प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन भने एक हजार ४९६ हुने अनुमान रहेको मन्त्री थापाले बताए । यस प्रदेशको कूल ग्राहस्थ उत्पादनमा कृषि वन तथा मत्स्य क्षेत्रको योगदान गत आर्थिक वर्षको भन्दा बढ्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षमा ३३.६६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ३४.७२ प्रतिशत हुने अनुमान छ । यस प्रदेशमा चालु आर्थिक वर्षमा होटल तथा रेस्टुरेन्ट क्षेत्रको योगदान बढ्ने अनुमान छ । यस्तै, २.६२ प्रतिशत योगदान रहने अनुमान गरिएको घरजग्गा कारोबार घट्ने अनुमान छ । गत वर्ष २.७७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा १.४१ प्रतिशतमा झर्ने अनुमान छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार ०८१ चैत्रसम्मको पुँजीगत खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म पुँजीगत खर्च तीन अर्ब ९२ करोड ५७ लाख मात्र भएको अभिलेख छ ।
विद्युतीय बैंकिङकर्ताको संख्या गत वर्षभन्दा २७.७२ प्रतिशत वृद्धि भएर २३ लाख ६० हजार ५९४ पुगेको छ । गत आर्थिक वर्षको यस अवधिमा १८ लाख ६७ हजार ८६३ रहेको थियो । यस प्रदेशको निक्षेप संकलन एक खर्ब ४४ अर्ब र कर्जा प्रवाह एक खर्ब ५३ अर्ब रहेको छ । आठ सय ४९ बैंक तथा वित्तीय संस्था रहेको सुदूरपश्चिममा कर्जा प्रवाहमा सुदूरपश्चिमको हिस्सा २.८२ प्रतिशत रहेको छ ।
०८१/८२ मा सुदूरपश्चिममा एक लाख ५३ हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ६ लाख ४० हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस प्रदेशमा मासु उत्पादनको उपलब्धता पनि बढेको छ । गत आर्थिक वर्षमा प्रतिव्यक्ति १२.२ किलोग्राम रहेकोमा चालु आर्थिक वर्षमा १५.७४ किलोग्राम पुगेको छ ।
चैतसम्म यस प्रदेशमा उद्योग क्षेत्रमा दुई अर्ब ६४ करोड ६० लाख लगानी भएको छ भने उद्योगको संख्या एक हजार ६३१ पुगेको छ । प्रदेश सरकारको स्वीकृति लिएर सञ्चालन भएको पर्यटन व्यवसायको संख्या ३१ पुगेको छ । जस अन्तर्गत टुर्स एन्ड ट्राभल्सको संख्या १३, होमस्टेको संख्या १५ रहेको छ । यस्तै, यस प्रदेशमा सामुदायिक विद्यालयको संख्या घटेको छ भने संस्थागत विद्यालयको संख्या भने बढेको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिममा तीन सय १८ किलोमिटर सडक निर्माण थप भएको छ । जस अन्तर्गत एक सय २० किलोमिटर कालोपत्र, ५७ किलोमिटर ग्राभेल र एक सय ४२ किलोमिटर माटो भएको सडक निर्माण भएको छ । यस प्रदेशका ८६ प्रतिशत जनसंख्यालाई विद्युत् सेवाको पहुँच उपलब्ध भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
