भारतीयद्वारा अतिक्रमित शुक्लाफाँटाको क्षेत्रमा सेनाको पोस्ट

बाटो नहुँदा र डुबानका कारण गस्ती गर्न समस्या

जेष्ठ ३१, २०८२

भवानी भट्ट

An army post in the area of ​​Shuklaphanta overrun by Indians

कञ्चनपुर — भारतीय नागरिकले अतिक्रमण गरेर खेती गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पन्छी ताल नजिकैको क्षेत्रमा सेनाको पोस्ट स्थापना गरिएको छ । निकुञ्जकै सुरक्षाका लागि उक्त क्षेत्रमा सेनाको नयाँ पोस्ट स्थापना गरिएको हो ।

सीमा स्तम्भ २७ र २८ को बिचमा सहायक सीमा स्तम्भ हराएका कारण उक्त क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका थिए ।

सोही क्षेत्रमा जेठ पहिलो साता पोस्ट स्थापना गरिएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । उनका अनुसार पोस्ट स्थापना गरिएको क्षेत्रमा बाटो नभएका कारण गस्ती गर्न भने समस्या देखिएको छ । एउटा सीमा स्तम्भबाट अर्को सीमास्तम्भसम्म पुग्न समेत एक/डेढ घण्टा हिँड्नुपर्ने वाग्ले बताउँछन् ।

‘सहायक सीमा स्तम्भ हराएको स्थानमा विवाद देखाएर भारतीयले खेती गरिरहेका हुन्,’ वाग्लेले भने, ‘एसएसबीले पनि सीमा स्तम्भ नभएकाले समस्या रहेको भनिरहेको छ, भारतीय नागरिक हटाउन पनि सहयोग गरेको छैन ।’ उनका अनुसार बर्खामा डुबान हुने भएकाले भारतीयहरू आउँदैनन् । तर हिउँदमा भने ट्र्याक्टर सहित आएर गहुँ छर्ने गरेका छन् । उक्त क्षेत्रमा करिब ९ सय बिघा जमिन अतिक्रमण भएको निकुञ्जले अनुमान गरेको छ । तर गुगलबाट हेर्दा भने ४ सय बिघा जति अतिक्रमण भएको देखिएको संरक्षण अधिकृत वाग्लेले बताए ।

An army post in the area of ​​Shuklaphanta overrun by Indiansशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पन्छी ताल नजिकैको क्षेत्रमा हिउँदमा भारतीयले गरेको गहुँखेती । फाइल तस्बिर, सौजन्य: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

अहिले पोस्ट स्थापना भएको स्थानबाट सबै क्षेत्रमा गस्ती गर्न सकिने अवस्था छैन । बर्खामा डुबानसँगै अन्य समयमा पनि बाटो र पुलको समस्याले सबै ठाउँमा पुग्न नसकिने वाग्ले बताउँछन् । ‘सबै क्षेत्रमा नभएपछि कम्तीमा पोस्ट स्थापना भएको क्षेत्रमा अतिक्रमण रोकिन्छ,’ उनले भने, ‘थप अर्को पोस्ट वा गस्ती गर्न बाटो र पुल बनाउन सके सबै क्षेत्र सुरक्षित रहन्छ ।’ उक्त क्षेत्रमा ठुलो ढड्डी र नर्कट भएका कारण पनि आउजाउ गर्न समस्या हुन सक्ने देखिएको छ ।

पोस्टमा नेपाली सेनासँगै निकुञ्जका कर्मचारी पनि खटिएका छन् । अहिले स्थापना भएको पोस्ट शुक्लाफाँटा पोस्टबाट चार/पाँच किलोमिटरको दुरीमा छ । तर बाटोकै समस्याका कारण आउजाउमा समस्या हुने गरेको छ । बर्खा याममा झनै डुबान हुने भएका कारण सुरक्षाकर्मी त्यही बस्न सकिने नसकिने विषय पनि यकिन छैन ।

उक्त क्षेत्रमा दिगो रूपमा अतिक्रमण हटाउन र विवाद समाधानका लागि सहायक सीमा स्तम्भको खोजी गर्नु नै मुख्य भएको संरक्षण अधिकृत वाग्ले बताउँछन् । एसएसबीले पनि सहायक सीमा स्तम्भ नभएको स्थानमा नेपाली वा भारतीय भूभाग भनेर छुट्याउन नसकिने भन्दै खेतीपाती गरिरहेका भारतीय नागरिकलाई रोक्न असहयोग गर्दै आएको छ ।

निकुञ्जमा अतिक्रमण गरेर भारतीयले खेतीपाती गरिरहेको विषय संसद्मा समेत उठेको थियो । त्यसपछि निकुञ्जको टोलीसँगै जिल्ला प्रशासन र सुरक्षा निकायको टोली समेत अतिक्रमित क्षेत्रमा पुगेको थियो । यस विषयमा भारतीय सुरक्षा निकायसँग समेत छलफल गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पन्छी ताल नजिकैको क्षेत्रमा अतिक्रमण हटाउन स्थापना गरिएको नेपाली सेनाको पोस्ट ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully