कञ्चनपुर — मंगलबार दिउँसो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। सादा पोसाकका एक जना प्रहरीलाई भित्री वस्त्र सेन्डोमा राखेर अर्को व्यक्तिले तान्दै हातपात गरिरहेका छन्। प्रहरीमाथि अन्य व्यक्तिले पनि हातपात गरिरहेका छन्। प्रहरी भने लाचार देखिन्छन् ।
यो दृश्य कञ्चनपुरको बेलौरी नगरपालिकाको कलकत्ता बजारको हो । घटना ठिक एक साता अगाडिको हो । सोही घटनाको भिडियो मंगलबार सामाजिक सञ्जालभरि भाइरल बनेको हो ।
जेठ २१ गते बिहान इलाका प्रहरी चौकी पचुँइका असई वीर बहादुर चन्द जवान विष्णु उपाध्यायसँगै कलकत्ता बजारमा गस्तीमा निस्केका थिए । त्यही बेला एक जना स्थानीय कालुराम चौधरी सीमावर्ती भारतीय बजारबाट साइकलमा युरिया मल ल्याइरहेका थिए । प्रहरीले सामान्य सोधपुछ गर्दा घरकै लागि ल्याएको चौधरीले बताएका थिए ।
‘मैले मुख खोलेर ल्याउनु, पुरै बोरा नल्याउनु भनेको हो, किन यसरी ल्याएको भनेर सम्झाएँ,’ असई चन्दले भने, ‘त्यसपछि मलको बोरा समातेर जवानले मोटरसाइकलमा राखेर चौकी लगिहाले । म मोटरसाइकलमा चढ्नै पाइनँ।’
त्यसपछि चन्दमाथि स्थानीयको समूह जाइलाग्यो। असई चन्दका अनुसार कलकत्ता बजारमै हार्डवेयरको पसल सञ्चालन गरिरहेका राहुल रानासहितको समूहले उनीमाथि हातपात गर्नुका साथै कपडा च्यातेका हुन् । ‘जवान मल लिएर गइहाले। म एक्लै भएँ, त्यसपछि सबै आएर रानाको नेतृत्वमा कुटपिट गरे, कपडा पनि च्याते,’ असई चन्दले भने।
असई चन्दका अनुसार मल समात्नुअघि प्रहरीले भारतबाट अवैध रूपमा भित्रिरहेको हार्डवेयरको सामान समेत समातेको थियो । जुन हार्डवेयर व्यवसायी रानाकै थियो । त्यही रिसले रानाले स्थानीयलाई भड्काएर आफूमाथि आक्रमण गरेको उनले बताए ।
असई चन्दमाथि हातपात गर्ने रानालाई मंगलबार पक्राउ गरिएको छ। अन्यको पनि खोजी भइरहेको छ । ‘घटना के हो ? र कसरी भयो यसबारेमा अध्ययन भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘भिडियोमा देखिएका मुख्य व्यक्तिलाई पक्राउ गरिएको छ, अन्यको पनि खोजी भइरहेको छ ।’
प्रहरी चौकी पचुईका असई चन्दले दुख दिने गरेको स्थानीयको आरोप छ । चन्दले जथाभाबी रकम असुली गर्ने र नदिएमा दुख दिने गरेको स्थानीय बताउँछन्। ‘बजारमा स्थानीयलाई जथाभाबी दु:ख दिने गरेको सुनेका छु,’ बेलौरी नगरपालिका-८ का वडाध्यक्ष विश्राम रानाले भने, ‘मल खाद बोकेको मान्छेलाई समातेर पैसा माग्दै गर्दा झडप भएको हो ।’ यस विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
