धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु 

जेष्ठ २५, २०८२

रञ्जना बिसी

One person died in a scooter accident in Dhangadhi

कैलाली — धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान करिब साढे ६ बजे स्कुटर दुर्घटना भएको थियो।

दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका–७ मनेहरा निवासी ३५ वर्षीय छोटेलाल चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल धनगढी लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। स्कुटरमा सवार अर्की ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन्। धनगढी–१२ बसोबास गर्ने कुश्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

रञ्जना

Link copied successfully