धनगढीमा पहलमानसिंह स्वाँर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु

कविता वाचन, सांगीतिक प्रस्तुति तथा सुदूरपश्चिमको साहित्यिक इतिहास र स्वाँरको योगदानमाथि छलफल हुने

जेष्ठ २४, २०८२

रञ्जना बिसी

Pahalmansingh Swaran International Literary Conference started in Dhangadhi

कैलाली — सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबारदेखि धनगढीमा ‘पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव’ सुरु भएको छ।

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार पहलमानसिंह स्वाँरको योगदानको कदर गर्दै आयोजना गरिएको दुईदिने सम्मेलनमा नेपालका विभिन्न क्षेत्र तथा भारतका आमन्त्रित साहित्यकारहरूको सक्रिय सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन सत्र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि थिए भने विशिष्ट अतिथि पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, श्री १००८ विश्वगुरु स्वामी गौरिशंकर आचार्य महाराज, सामाजिक विकासमन्त्री मेघराज खड्का, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा हेमराज पन्त, पूर्व सांसद यज्ञराज पाठक, प्रदेशसभा सदस्य शिवसिंह ओलीलगायतको उपस्थिति थियो ।

मुख्यमन्त्री शाहले स्वाँरको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रदेश सरकारले पहल गर्ने बताए । उनले सुदूरपश्चिमको साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । विश्वगुरु स्वामी गौरिशंकर आचार्यले नेपाल–भारतको साहित्यलाई एक आत्माका दुई अंगको रूपमा व्याख्या गर्दै धर्म र साहित्यको अभिन्न सम्बन्धबारे धारणा राखे ।

कार्यक्रममा विभिन्न साहित्यकारलाई सम्मान गरिएको छ भने सुदूरपश्चिमको संस्कृति नामक पुस्तकको विमोचन गरिएको छ। सम्मेलनभर कविता वाचन, सांगीतिक प्रस्तुति तथा सुदूरपश्चिमको साहित्यिक इतिहास र स्वाँरको योगदानमाथि छलफल हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धाका लागि छानिएका ४० जना प्रतिनिधि कविहरूका रचना प्रस्तुत गरिनेछ ।

सुदूरपश्चिमको साहित्यिक पहिचान उजागर गर्नु र नेपाल–भारतबीचको साहित्यिक सम्बन्धलाई सुदृढ बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

रञ्जना

Link copied successfully