कैलाली — कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र विभिन्न प्रहरी इकाईहरूको संयुक्त टोलीले टीकापुर र धनगढी क्षेत्रमा चेकिङमा क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोस्टमा जाँच गर्दा बर्दिया, राजापुर नगरपालिका-१ का १९ वर्षीय हिक्मत रावत र गेरुवा गाउँपालिका–४ का २८ वर्षीय छवि विकको साथबाट ९०० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो।
त्यसैगरी, सोही स्थानबाट लम्कीचुहा नगरपालिका–५ का २३ वर्षीय निराजन बडुवाल, वडा नम्बर २ का २० वर्षीय सुरेश विक र वडा नं. ६ का २२ वर्षीय अनमोल विकको साथबाट १ ग्राम २९० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका–७ बेलीमा सुप्र ०१–०१२ प ९१५१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा चालक अत्तरिया–१८ का १९ वर्षीय दिपेश बस्नेतको साथबाट १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
सबै पक्राउ परेकालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
