डोटी — डोटीको शिखर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले उक्त घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख सिंहले नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरलाई हस्तान्तरण गरेका थिए ।
स्थानीय तहका स्वास्थ्य कर्मचारीहरूले जनताको जीवनरक्षाका लागि अहम् भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सिंहले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल सरकारले तोकेका सम्पूर्ण सूचकहरू पूरा गर्दै कुनै पनि बालबालिका नछुटाएर खोप अभियान सञ्चालन गरी जिल्लाकै पहिलो पालिकाका रूपमा पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेकोमा बधाई ज्ञापन गरे ।
नगर प्रमुख बलायरले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै नगर सरकारले स्वास्थ्य क्षेत्रमा भरिपूर्ण लगानी गर्न अभियान सञ्चालन गर्न तत्पर रहेको बताए ।
खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने उनले बताए ।
नगरपालिकाले २०८१ चैत्र मसान्त सम्ममा १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिलाई पूर्णखोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको नगर उप–प्रमुख सुनिता रावल जोराले बताइन् ।
राज्यको खोज र खोप नीति अनुरूप विभिन्न तथ्याङ्क र सूचकहरू पूरा गरेर नगरलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले जनतालाई सहज, र छिटो छरितो सेवा डेलिभरी गर्नु कर्मचारीको दायित्व भएको बताउँदै विकट र दुर्गममा सेवा दिने स्वास्थ्यकर्मी मूल्यांकन गरेर प्रोत्साहन गरिने बताए ।
नगरका ११ वटै वडाहरूलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र शाहले बताए । 'राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो,' शाहले भने, 'यदि खोप नपाएका, खोप लगाउन छुटेका बालबालिकाहरू सम्पर्कमा ल्याइएको भने एक हजार पुरस्कार प्रदान गरिने छ ।'
नगरपालिकाले दिगोपना र पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गर्ने, खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक दिल्लीरमण जोशीले बताए । उनले शिखर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा गर्ने जिल्लाकै पहिलो पालिका भएको बताए ।
कार्यक्रममा खोप अभियान सञ्चालन गर्न खटिएका स्वास्थ्यकर्मीहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
