डोटीमा पहिलोपटक पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

जेष्ठ २१, २०८२

मोहन पनेरु

The municipality announced the first time to ensure full vaccination in Doti

डोटी — डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।

जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे । पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख सिंहले नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरलाई हस्तान्तरण गरेका थिए ।

स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सिंहले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल सरकारले तोकेका सम्पूर्ण सूचकहरु पूरा गर्दै कुनै पनि बालबालिका नछुटाएर खोप अभियान सञ्चालन गरी जिल्लाकै पहिलो पालिकाका रूपमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकोमा बधाई दिए ।

नगरप्रमुख बलायरले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै नगर सरकारले स्वाथ्य क्षेत्रमा भरिपूर्ण लगानी गर्न अभियान सञ्चालन गर्न तत्पर रहेको बताए । खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने उनले बताए ।

नगरपालिकाले २०८१ चैत्र मसान्त सम्ममा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पूर्ण खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगर उप–प्रमुख सुनिता रावल जोराले बताइन् ।

राज्यको खोज र खोप नीति अनुरुप विभिन्न तथ्याङ्क र सूचकहरु पूरा गरेर नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले जनतालाई सहज, र छिटो छरितो सेवा दिनु कर्मचारीको दायित्व भएको बताउँदै विकट र दुर्गममा सेवा दिने स्वाथ्यकर्मीको मूल्यांकन गरेर प्रोत्साहन गरिने बताए ।

नगरका ११ वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचद्र शाहले बताए । ‘राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो,’ शाहले भने, ‘यदि खोप नपाएका, खोप लगाउन छुटेका बालबालिकाहरु सम्पर्कमा ल्याइएको भने एक हजार पुरस्कार प्रदान गरिने छ ।’

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए/नपाएको यकिन गर्ने, खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक दिल्ली रमण जोशीले बताए । उनले शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाकै पहिलो पालिका भएको बताए ।

कार्यक्रममा खोप अभियान सञ्चालन गर्न खटिएका स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

मोहन

Link copied successfully