दार्चुलामा भालुकाे आक्रमणबाट महिला घाइते

जेष्ठ १७, २०८२

मनाेज बडु

Woman injured by bear attack in Darchula

दार्चुला — शैल्यशिखर नगरपालिका-५ बगौरा आगरमा भालु घरभित्र पसेर महिलालाई आक्रमण गरेकाे छ । शुक्रबार रातिकाे समयमा स्थानीय ५८ वर्षीया कलावति रावललाई भालुले आक्रमण गरी घाइते बनाएकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गम्भीर घाइते अवस्थामा रहेको भालु स्थानीय रामदत्त जोशीकाे घरभित्र पसेको थियो । भालु घरभित्र पस्ने क्रममा महिलालाई आक्रमण गरेकाे बुझिएकाे छ । भालुकाे आक्रमणबाट महिलाकाे शरीरमा घाउ रहेका छन् । घाइते रावलको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताए । 

रातभरि जाेशीकाे घरभित्र रहेकाे भालुलाई प्रहरी र डिभिजन वन कार्यालय दार्चुलाकाे टोलीले घर बाहिर निकालेको डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत प्रमान्नद कुँवरले बताए । भालुको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हलचल गर्न सक्ने अवस्थामा उनी नरहेकाे उनकाे भनाइ छ ।  

गम्भीर घाइते अवस्थामा रहेको भालुलाई गोकुलेश्वर लैजाने तयारी चलेकाे छ । भालुकाे स्वास्थ्य परिक्षणपछि के कारण घाइते भएको भनेर पत्ता लाग्ने वन अधिकृत कुँवरले बताए ।

मनाेज बडु

Link copied successfully