जिप दुर्घटनामा टेलिकमका बाजुरा प्रमुखसहित ३ जनाको मृत्यु 

जेष्ठ १३, २०८२

अर्जुन शाह

3 people died in a jeep accident, including Bajura head of Telecom

धनगढी — बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनामा टेलिकम बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । 

नेपाल टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप दुर्घटनामा परी प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरु बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र जिप चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले बताए । 

घटनास्थलमै रहेका स्थानीय बासिन्दा दीपक कार्कीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । काँडाकोटमा रहेको नेपाल टेलिकमको टावरको ब्याट्री फेर्नका लागि मार्तडीबाट प्रमुख खड्कासहितको टोली काँडाकोट जाँदै थियो । टावर नजिकै पुग्दा जिप दुर्घटनामा परेको हो ।

टेलिकमको ब्याट्री फेर्ने कार्यका लागि सहयोग लिइएका बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोल्टी पठाइएको कार्कीले बताए ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully